चलचित्र ‘मारुनी’ यूट्युबमा


काठमाडौं । नारी संवेदनामाथि फिल्म बनाउन कहलिएका नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ निःशुल्क प्लेटफर्म यूट्युबमा उपलब्ध भएको छ । गत वर्ष सिनेमा हलमा रिलिज भएको फिल्मलाई बिहीवार महाशिवरात्रीको अवसर पारेर बुढासुब्बा डिजिटलले यूट्युबमा सार्वजनिक गरेको हो । यूट्युब रिलिजसँगै फिल्मले देश तथा विदेशमा बस्ने दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

दर्शकहरुले ‘मारुनी’ लाई नेपालमा बनेका अन्य फिल्मभन्दा फरक रहेको बताएका छन् । फिल्मले उठान गरेको कथावस्तु, पटकथा, प्रस्तुती, छायांकन, गीतसंगीत, निर्देशन र कलाकारको अभिनयको प्रशंसाले यूट्युबको कमेन्ट बक्स भरिएको छ । दर्शकहरुले अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको जोडी सुहाएको भन्दै प्रशंसाको पुल पनि बाँधेका छन् ।

यूट्युबमा सार्वजनिक भएको केही घण्टामा नै ट्रेन्डिङको यात्रा सुरु गरेको फिल्मलाई पूनम गौतमले निर्माण गरेकी हुन् । सिनेमा हलमा यो फिल्मको भिडन्त साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ सँग भएको थियो, जसले गर्दा फिल्मले बक्सअफिसमा नाफाको व्यापार गर्न सकेन । तर, दर्शक र समीक्षकले फिल्मको प्रशंसा गरेका थिए । फिल्म मध्यान्तरपछि बलियो बनेको छ ।

‘मारुनी’ ले पुरूष भएर जन्मिएकी तर लिङ्ग परिवर्तन गरेर युवती बनेकी एक ‘ट्रान्सजेन्डर’ पात्रको प्रेमकथा भन्छ । फिल्म हेरेपछि दिमागबाट हट्न नसक्ने भनेको क्लाइमेक्स हो । फिल्मको क्लाइमेक्स परम्परागतभन्दा अलग छ । फिल्ममा अभिनेत्री रेविका गुरुङले उम्दा अभिनय गरेकी छन् । सम्पदा बानियाँ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाइको पनि फिल्ममा अभिनय छ ।

Nabintech