प्रधानमन्त्री कपको च्याम्पियन बन्यो एपिएफ


नेपालगन्ज । नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता उपाधि जितेको छ ।

मंगलबार नेपालगन्जस्थित रंगशाला परिसरमा एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता एपिएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गर्ने छन् । एपिएफ लिगमा शीर्षस्थानमा रहँदै उपाधि जितेको हो ।

खेलमा राम्रो प्रतिस्पर्धा गरेपनि पुलिसले कुनै सेट भने जित्न सकेन । सुरुवाती देखिनै उत्कृष्ट प्रतिस्पर्धा भएको खेलमा पुलिस अन्तिम समय चुक्न पुग्यो । पहिलो सेटमा एक समय १६–१६ को बराबरी अवस्थाबाट एपिएफले लगातार चार अंकको अग्रता लिँदै २५–२२ ले जितेको थियो ।

निकै प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपिएफले २५–२१ ले जित हात पार्यो । २१–२१ को बराबरी अवस्थाबाट एपिएफले लगातार चार अंक जोड्दै सेट जित्दै उपाधि नजिक पुगेको थियो ।

तेस्रो सेटमा पनि दुबै टोलीले सुरुवात देखिनै उच्च प्रतिस्पर्धा गरे । १०–१० को बराबरी अवस्थाबाट पुलिसले लगातार तीन अंक जोड्दै सेटमा एक समय अग्रता लिएको थियो । तर त्यसलाई निरन्तरता दिन सकेन । एपिएफले उत्कृष्ट पूनरागमनका साथ पुन पाँच अंकको अग्रता लिँदै २०–१५ अवस्थामा पुग्दै उपाधि सहज बनाएको थियो ।

एपिएफले तेस्रो सेटमा पुलिसलाई २५–१९ ले हराउँदै उपाधि जितेको हो । एपिएफले लिगमा अपराजित रहँदै उपाधि जितेको हो । एपिएफलाई उपाधि दिलाउन सरस्वती चौधरीको प्रर्दशन खेलमा उच्च रह्यो ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता थियो । न्यु डायमन्ड तेस्रो हुँदा आर्मी चौथो रह्यो । न्यु डायमन्डले एक लाख र आर्मीले ५० हजार प्राप्त गर्ने छन् ।

Nabintech