• १६ चैत्र २०८०, शुक्रबार
एलपिएल: हिमालयन ह्याइट हाउसको जीत


धनगढी। धनगढीमा जारी ‘लिटल फ्लावर प्रिमियर लिग’ ‘एलपिएल’राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा काठमाडौँको हिमालय ह्वाइट हाउसले धनगढीको शारदा विद्या निकेतनलाई पराजित गरेको छ । हिमालय ह्वाइट हाउसले शारदा विद्या निकेतनलाई ३५ रनले पराजित गरेको हो ।

दुई खेलमा दोस्रो जीत निकालेको हिमालय ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । टस जितेर ब्याटिङ पहिले गरेको ह्वाइट हाउसले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९२ रन बनायो ।

उसका लागि दीपक बोहराले ९३ र सुदीप बस्नेतले २३ रन बनाए । शारदाका अरुण धाँमीले दुई तथा नागराज सिंह र दीपक रोकायाले एक-एक विकेट लिए ।

दोस्रो इनिङमा जवाफी ब्याटिङ गरेको शारदाले २० ओभरमा नौ विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो । शारदाका लागि दिनेश ओडले ९० र अर्जुन साउदले २३ रन बनाए । ह्वाइट हाउसको जीतमा सन्दिप जङ्ग शाहीले चार र रजत तिमिल्सिनाले दुई विकेट लिए ।

आजै भएको अर्को खेलमा कैलालीको बाल बाटिकाले बुटवलको न्यू एकेडेमीलाई छ विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको न्यू एकेडेमीले १९ ओभर तीन बलमा सबै विकेट गुमाउँदै १११ रन जोडेको थियो ।

न्यू एकेडेमीका लागि लोकेश जोशीले अर्धशतकीय इनिङ्स खेले । उनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको जीतका लागि पर्याप्त हुन सकेन । न्यू एकेडेमीका लागि समीर विष्टले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बलिङतर्फ बालबाटिका लागि कमल कुँवरले तीन विकेट लिए । त्यस्तै हिमाल मल्ल, विशाल विक्रम केसी र हेमन्त बुढाले समान दुई/दुई विकेट लिए । कमल ओलीले एक विकेट लिए । न्यू एकेडेमीले दिएको ११२ रनमा लक्ष्य पछ्याएको बाल बाटिकाले १८ ओभर तीन बलमा लक्ष्य भेट्टायो ।

बालबाटिकाको जीतमा कमल ओलीले अविजित ३९, अभिषेक साउदले ३३ र विराटसिंह भण्डारीले ३० रनको योगदान दिए । बलिङतर्फ न्यू एकेडेमीका लागि सुमित पराजुली र सुबेस रावलले एक÷एक विकेट लिए । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ ।

Nabintech