• १३ बैशाख २०८१, बिहीबार
सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षमा गर्यो १२८ किलोमिटर सडक निर्माण


काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षको अवधिमा १२८ किलोमिटर लामो पक्की सडक निर्माण गरेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सरकार गठनको तीन वर्षको अवधिमा ३२२ किलोमिटर खण्डास्मित (ग्राभेल सडक) र ७०८ किलोमिटर लामो माटे सडक निर्माण गरेको हो ।

१० ओटा सडक पुल निर्माणसँगै १८ ओटा झोलुंगे पुल समेत निर्माण सम्पन्न भएर सञ्चालनमा आएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी छविराज जोशीले बताए ।

गत आर्थिक वर्ष २०७६/७७ देखि क्रमागत रुपमा सञ्चालन भई चालू आवभित्रै निर्माण सम्पन्न हुने गरी २०७।८ किलोमिटर पक्की (कालोपत्रसहित) सडक, ५९ किलोमिटर ग्राभेल सडक, २१५ किलोमिटर माटे सडक निर्माण, पाँचओटा सडक पुल र ६ ओटा झोलुंगे पुल निर्माणको काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्र पारिएको जोशीले जानकारी गराए ।

बहुवर्षीय ठेक्का सम्झौता गरिएका आयोजनाहरुको निर्माण आगामी आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न हुने क्रमागत आयोजनाहरुबाट समेत गरी थप १६० दशमलव ४१ किलोमिटर पक्की सडक, ४८ दशमलव ५ किमी ग्राभेल, २२८ किमी माटे सडक, १४ ओटा सडक पुल र ८ ओटा झोलुंगे पुल निर्माण सम्पन्न हुने गरी निर्माण सम्झौता गरिएको मन्त्रालयकाले जनाएको छ ।

प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत तीन वर्षको अवधिमा लक्षित वर्गका जनताका लागि भन्दै एक हजार ७४६ ओटा निजी आवास भवन निर्माण गरी हस्तान्तरण गरेको छ ।

अहिलेसम्म ५७ ओटा सामुदायिक/सरकारी भवन निर्माण सम्पन्न गरिनुका साथै गत आवदेखि एक हजारको संख्यामा निजी आवासहरुको चालू आवभित्रै निर्माण सम्पन्न गरेर विपन्न परिवारलाई हस्तान्तरण गरिने बताइएको छ ।

त्यस्तै क्रमागत रुपमा सञ्चालित एक हजार २५४ ओटा निजी आवासहरु आगामी आव २०७८/७९ भित्रै सम्पन्न गरेर हस्तारन्तरण गर्ने गरी काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

सामुदायिकरसरकारी भवन निर्माणतर्फ चालू आवभित्र ४५ र आव २०७८/७९ मा थप ३५ ओटा सामुदायिकरसरकारी भवनहरुको निर्माण सक्ने गरी काम भइरहेको मन्त्रालयको कार्य योजनामा उल्लेख छ ।

Nabintech