विवादित दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउने प्रधानमन्त्रीको उद्घोष

बिएण्डसी कलेज सम्बन्धनमा सरकारले हस्तक्षेप गरेको भन्दै काँग्रेसको आपत्ति



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेजलाई छिट्टै काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिलाउने उद्घोष गरेका छन् ।

मंगलार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बी एण्ड सी अब छिट्टै मेडिकल कलेज बन्ने बताए । उनले भने, काठमाडौं विश्वविद्यालयलले छिट्टै सम्बन्धन दिनेछ ।’ अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उनी हिम्मत भएको मान्छे भनेका छन् ।

प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा केयूको सिनेटबाट सम्बन्धन प्रक्रिया अगाडि बढाइएको छ । तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित सम्बन्धन दिन खोजिएको भन्दै सिनेटकै सदस्यहरुले विरोध गरेका छन् ।

यता नेपाली काँग्रेसले बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयको निर्णयमा सरकारले हस्तक्षेप गरेको भनी आपत्ति जनाएको छ ।
काँग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत सरकार आफैंले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप भएको आरोप लगाएको छ ।

प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सिर्जना नगर्न विभागका सचिव डा।कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारलाई सचेत गराइएको छ ।

 

Nabintech