विप्लव समूहसंग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन


काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई त्यसको सदस्य छन्।

सरकारका प्रवक्ता पार्वत गुरुङले सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् । उनले चाँडै विप्लव पक्षको वार्ता टोली पनि सार्वजनिक हुने र छलफल अघि बढ्ने बताए ।
मन्त्री गुरुङले भने, ‘सबै सशस्त्र समूह र द्वन्द्वमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउन नेपाल सरकारले आफ्नो स्पष्ट दृष्टिकोण राख्दै आएको छ। त्यही दृष्टिकोणका आधारमा आजको वार्ता टोली गठन गरिएको हो।’
प्रतिबन्ध नहटाई वार्ता टोली किन बनाइएको हो भन्ने प्रश्नमा मन्त्री गुरुङले ती सबै वार्ताकै क्रममा टुंगो लाग्ने जानकारी दिए ।

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा र उनीहरुको हतियार व्यवस्थापनबारे सोधिएको प्रश्नमा मन्त्री गुरुङले ती सबै विषय वार्ताबाटै टुंगिने बताए । ‘उहाँहरुप्रति लागेका मुद्दाहरु, उहाँहरुका हतियारको कुरा, यी सबैको प्रक्रिया टुंगोमा पुर्याउनका निम्ति नै वार्ता टोली गठन गरिएको हो । वार्ताभन्दा अगाडि नै सबै कुरा हल गर्ने हो भने वार्ताको औचित्य नै समाप्त हुन्छ, मन्त्री गुरुङले भने ।

सरकारले २८ फागुन २०७५ देखि विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ । हिंसात्मक गतिविधिमा लागेको भन्दै सरकारले विप्लव समूहको सम्पूर्ण गतिविधिमाथि रोक लगाएको थियो । त्यसयता नेपाल प्रहरीले समूहका नेता, कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति लिँदै आएको छ ।

Nabintech