३० करोड लगानीमा वाटर पार्क निर्माण, तीन दर्जन बढिले पाए रोजगारी


काठमाडौं । सुनसरीको इटहरीमा ‘इपि ल्याण्ड एण्ड वाटर पार्क’ को निर्माण सम्पन्न भएको छ ।

पूर्वप्रहरी अधिकृत प्रहरी अतिरिक्त महानरीक्षक (एआइजी) कृष्ण बस्नेत तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) ज्ञानविक्रम शाह, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौंको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा उक्त पार्क निर्माण गरिएको हो ।

पार्क ३० करोडमा ६ विघा क्षेत्रफलमा निर्माण गरिएको हो । सो पार्कमा पाँच हजार मानिस अट्ने क्षमता छ । अघिल्लो चैत महीनामै सञ्चालनमा आउने भनिएको सो पार्क कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको थियो ।

संसारका सबै ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । विशेषगरी विदेशका ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । ती पार्क कहीँ सरकारले बनाएको हुन्छ त कहीँ निजी क्षेत्रको लगानीमा । नेपालमा मुख्य शहरमा कमै मात्र मनोरञ्जन पार्क छन् । जसले गर्दा परिवारसँग रमाइलो गर्न, घुम्न उचित ठाउँको अभावलाई यो पार्कले पूरा गर्ने पार्क सञ्चालकले विश्वास लिएका छन् ।

पार्क सञ्चालनले गर्दा इटहरीमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि रमाउने ठाउँ मिलेको छ । यहाँबाट बालबालिका, तन्नेरीदेखि पारिवारिक मज्जा लिन पाउने भएका छन् । पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठ ओटा राखिएका छन् ।

एक स्लाइडमा एक पटकमा बढीमा आठ जनाले खेल्न सक्नेछन् । दिनभरिमा पाँच हजार मानिसले यसमा मनोरञ्जन लिन सक्छन् । पार्कमा एकै पटक ६०० मानिस अटाउने एक वेभ पुल राखिएको छ । यस पुलमा बसेपछि समुद्रको छालमा बसेकोजस्तो आनन्द आउँने पार्क सञ्चालक समितिका अध्यक्ष भीमबहादुर पौडेलले जानकारी दिए ।

जोरासिक यहाँको अर्को सुन्दर विशेषता हो । यहाँ डुंगा चढेर डाइनोसरलगायतका लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिने अध्यक्ष पौडेलले बताए ।

पार्कमा जिप लाइन टावर बनाइएको छ । यसमा एक टावरदेखि अर्को टावरसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिन्छ । साथै, चट्टानमा चढ्ने स्थान पनि निर्माण गरिएको छ ।

पार्कमा पहिलो स्नोपार्क केही केही समयपछि सञ्चालनमा आउने जानकारी दिँदै अध्यक्ष पौडेलले भने, ‘पार्कभित्र रेष्टुरेन्ट, बार्बे क्यु हुनेछ र अर्को लञ्च वा डिनरका लागि फाइन डाइनिङ राखिएको छ ।’ उनले भने, ‘फास्ट फुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ । यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि छ ।’ प्रदेश–१ को गौरव बोक्ने यो पार्कमा पहिलो चरणमा ६० जनाले रोजगार पाएका छन् ।

Nabintech