पलका म्यानेजरले दिए अरुण प्रधानविरुद्ध उजुरी


काठमाडौं । अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबीचको विवाद झन् चर्किँदै गएको छ ।

बिहीवार अध्यक्ष प्रधानले एक होटलमा खाना खाइरहेको समयमा आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा पलविरुद्ध उजुरी दिएका थिए । पलका म्यानेजर कृष्णप्रसाद जोशीले आफूमाथि आक्रमण गरेको उनको आरोप छ ।

म्यूजिक भिडियोको छायांकनका लागि धरान पुगेका पलले भने अध्यक्ष प्रधानबाट आफूमाथि दुर्व्यवहार भएको बताएका छन् । खाना खाने क्रममा आफू र आफ्नो सहयोगी कृष्णप्रसाद जोशीलाई दुर्व्यवहार गरेको उनको भनाई छ ।

यसबीच, शुक्रवार पलका म्यानेजर जोशीले इलाका प्रहरी कार्यालय धरान, सुनसरीमा अरुण प्रधानविरुद्ध अभद्र व्यवहार गरेको भन्दै उजुरी हालेका छन् ।

प्रधानले जानकारी विनै आफ्नो नीजि प्रयोजनका लागि पल शाह इटहरी आउन लागेको कुरा स्टाटसमा लेखेर पल शाहको ब्रान्डको दुरुपयोग गरेको जोशीले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

अरुण प्रधानले छुट्टै कामको प्रस्ताव गर्दा पल शाहले म्यानेजरसँग कुरा गर्न भनेर देखाउँदा अनपेक्षित रुपमा आक्रोशित भएर आफूहरुमाथि अभद्र व्यवहार गरेको उजुरीमा भनिएको छ ।

प्रधानले हिर्काउन कुर्सी उठाएर अश्लिल गाली गरेपछि त्यसको प्रतिकार गर्दा सामान्य धकेला धकेल भएको पनि उनले उजुरीमा उल्लेख गरेका छन् ।

घटना भएकै साँझ दुवै पक्षले माफी मागेको भए पनि अरुण प्रधानले आफूहरुलाई फसाउन खोजेका कारण उनले कानुन बमोजिम सजायको माग गरेका छन् । शुक्रवार दिउँसो ४ गते प्रहरीले दवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

Nabintech