• ७ बैशाख २०८१, शुक्रबार
चिनियाँ कम्पनीले पायो सुनकोशी मरिण डाइभर्सन निर्माणको ठेक्का, टीबीएमले खन्दैछ सबैभन्दा लामो सुरुङ


काठमाडौं । चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङले देशको हालसम्मकै ठूलो नदी डाइभर्सन परियोजनाको सुरुङ खन्ने भएको छ । तराई मधेशको आर्थिक समृद्धिसँग जोडिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने कामका लागि सो चिनियाँ कम्पनीले ठेक्का पाएको हो ।

सो आयोजनाको सुरुङ भने टनेल बोरिङ मेशनि (टीबीएम)ले खन्ने आयोजनाले जनाएको छ । यसअघि नेपालको पहिलो आयोजनाको रुपमा रहेका भेरी बबई डाइभर्सन आयोजनामा टीबीएमले सुरुङ खनेको थियो ।

भेरी बबईमा कूल ४.२ मिटर गोलाइको सुरुङ खनिएको थियो । सो आयोजनामा हाल बाँध तथा विद्युत् गृह निर्माणको काम भइरहेको छ । भेरी बबई आयोजनाको सफलतापछि सरकारले सुनकोशी मरिण डाइभर्सन आयोजनामा समेत टीबीएम मेशिनले सुरुङ खन्न लागिएको हो । सुनेकाशी मरिणको सुरुङको गोलाई भने ५.५ मिटर रहेको छ ।

हालसम्म निर्माण भएका मध्ये टीबीएमबाट खन्न लागिएको यो नै सबैभन्दा ठूलो सूरुङ हुुनेछ । कूल १३।३ किलोमिटर लामो सुरुङ खन्न लागिएको हो । कूल २७ महिनामा सुरुङ खन्ने समय लाग्नेछ । भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ भने १८ महिनामा नै सम्पन्न भएको थियो ।

कति लागतमा बन्दैछ आयोजनाको सुरुङ निर्माण

चिनियाँ कम्पनीले १० अर्ब ५ करोड ६८ लाखमा सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको हो । आयोजनाबाट कूल ३१ मेगावाट बिजुली समेत उत्पादन हुनेछ ।

सो आयोजनाबाट प्रदेश नं २ को एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । हिमाल, पहाड र तराईलाई समेत जोड्ने आयोजनाका रुपमा लिइएको छ ।

आयोजनालाई बहुउद्देश्यीय बनाइने भएको छ । भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा टनेल बोरिङ मेशिन ९टीबीएम० को प्रयोगका कारण सहज भएकाले सो आयोजनामा समेत त्यस्तै प्रविधिको प्रयोग गर्ने सोचमा सरकारले यसअघि नै निर्णय गरेको थियो ।

भेरी बबईमा कूल १२ दशमलब दुई किलोमिटर लामो सुरुङ थियो । उता सुनकोशी मरिण आयोजनाको निर्माण अवधि ५ वर्ष लाग्ने अनुमान गरिएको छ ।

सो आयोजनाको अनुमानित कूल लागत ८२ अर्ब रहेको छ । त्यसमा विद्युत् र सिँचाइको फरकफरक लागत रहने जनाइएको छ । विद्युत्गृह, सुरुङ निर्माणलगायतमा ५२ अर्ब ८८ करोड र सिँचाइतर्फ ३२ अर्ब लागत रहने अनुमान गरिएको छ ।

आयोजनाबाट २ नम्बर प्रदेशको एक लाख २२ हजार हेक्टर जमीनमा सिँचाइ हुनुका साथै मरिन उपत्यकामा पनि सिँचाइ सुविधा उपलब्ध हुनेछ । सरकारले चालू आवको बजेटमा समेत सो नदी स्थानान्तरण आयोजनालाई प्राथमिकतामा राखी बजेट विनियोजन गरेको छ ।

आयोजनाका प्रमुख सुशील आचार्यले उक्त परियोजनाबाट २ नम्बर प्रदेशलाई खानेपानीका लागि पानी उपलब्ध गराउने लक्ष्यसमेत राखिएको जानकारी दिए ।

सिन्धुलीको खुर्कोट नजिक सुनकोशी नदीमा बाँध बाँधेर सुरुङमार्फत पानी मरिन उपत्यकामा खसालिने छ । आयोजनाको लागि लगानीको स्रोत समेत जुटिसकेको छ ।

सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजना रुपमा अघि बढाएको छ । विकास र पूर्वाधारको माध्यमबाट सुनकोशी मरिन डाइभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता निर्माण गर्ने एउटा सशक्त माध्यमका रुपमा समेत उपयोगी हुने विश्वास लिइएको छ ।

आयोजनामा प्रयोग हुने टीबीएम डिजाइनका लागि समेत छिट्टै प्रक्रिया अगाडि बढाउने तयारीमा परियोजनाको व्यवसथापन जुटेको छ । भेरी बबईमा अमेरिकन प्रविधिको टीबीएम चिनियाँ कम्पनीले ल्याएको थियो । नेपालको सुरुङ निर्माणमा प्रयोग हुँदै आएको ब्लास्ट एण्ड ड्रिलिङ प्रविधिबाट क्रमशः अब टीबीएम प्रविधिमा रुपान्तरित भएको छ ।

छिमेकी देश चीनमा त टीबीएमबाट एकैदिन सयौं किलोमिटरसम्म सुरुङ खन्ने गरिएको विवरण समेत सार्वजनिक भएको छ ।

Nabintech