टेष्ट सिरीजः भारत १४५ रनमै अलआउट, रुटले गरे घातक बलिङ


काठमाडौं । इंग्ल्याण्डसँगको टेष्ट सिरिजअन्तर्गत तेस्रो खेलको पहिलो इनिङ्समा भारत १ सय ४५ रनमै अलआउट भएको छ । भारतले पहिलो इनिङ्समा ५३.२ ओभर मात्र खेल्न सक्यो ।

उसका लागि रोहित शर्माले ६६, कप्तान विराट कोहलीले २३, रवीचन्द्रन आश्विनले १७, शुभमन गिलले ११ र इशान्त शर्माले अविजित १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा कप्तान जो रुट र ज्याक लिचले उत्कृष्ट प्रदर्शन गरे । रुटले ६.१ ओभरमा आठ रन दिएर पाँच विकेट लिए । टेष्टमा उनको यो उच्च बलिङ प्रदर्शन हो ।

यसअघि, टेष्टमा रुटको उच्च बलिङ प्रदर्शन ८७ रन दिएर चार विकेट लिनु थियो । त्यस्तै, लिचले २० ओभरमा ५४ रन दिएर चार विकेट हात पारे । जोफ्रा आर्चरले एक विकेट लिए ।

पहिलो इनिङ्समा इंग्ल्याण्ड ११२ रनमा अलआउट

इंग्ल्याण्ड पहिलो इनिङ्समा ११२ रन मात्र बनाउन सक्यो । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निकै खराब सुरुवात गरेको थियो ।

उसले ओपनिङ ब्याट्सम्यान डोम सिब्ली र तेस्रो नम्बरमा ब्याटिङमा आएका जोनि बेयरिस्टोलाई शून्यमै गुमायो ।

त्यस्तै, ज्याक लिच (३), बेन स्टोक्स (६), स्टअर्ट ब्राड (३), ओली पोप (१) दोहोरो अंकमा रन जोडन नपाउँदै पवेलिएन फर्किए ।

पहिलो इनिङ्समा ज्याक कर्लीले ५५, कप्तान जो रुटले १७ र बेन फोक्सले १२ रन बनाए ।

बलिङमा स्पिनर अक्षर पटेलले घातक बलिङ गरे । उनले २१.४ ओभरमा ३८ रन दिएर ६ विकेट लिए । त्यस्तै, रवीन्द्रन आश्विनले तीन र इशान्त शर्माले एक विकेट लिए ।

तेस्रो टेष्टमा इंग्ल्याण्डले प्लेइङ-११ मा चार र भारतले दुई खेलाडी परिवर्तन गरेको छ । तेस्रो टेष्ट भारत-इंग्ल्याण्ड दुवै टिमका लागि निकै महत्वपूर्ण छ ।

आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सम्भावना जिवितै राख्न दुवै टिमलाई तेस्रो टेष्ट जित्नै पर्ने दबाब छ ।

तेस्रो टेष्टमा हार ब्यहोर्ने टिम च्याम्पियनसिपको फाइनल दौडबाट बाहिरिने छ । म्याच ड्र भएमा इंग्ल्यान्ड च्याम्पियनसिपको फाइनल पुग्नबाट बाहिरिने छ ।

Nabintech