• ७ बैशाख २०८१, शुक्रबार
सर्वोच्चले दियो पशुपतिमा तत्काल जलहरी नराख्न आदेश


काठमाडौं । पशुपतिमा तत्काल जलहरी नराख्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

यस विषयमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकार दुबै पक्षलाई फागुन १७ गते छलफलमा बोलाएको छ । सर्वोच्चले जलहरी राख्नुको लिखित कारण पनि सरकारसँग माग गरेको छ ।

सर्वोच्चले जलहरी नराख्न अन्तरकालीन आदेश जारी गरेकै दिन विहान साढे ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरमा जलहरी राखिसकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ । बुधबार मन्दिरमा राष्ट्रपति भण्डारीको उपस्थितिमा सुनको जलहरी राखिएको हो ।

गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । जलहरी राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजा गरेकी छन् । जलहरी राख्ने काम सकिएको र अब ३ दिनसम्म क्षमा पूजा गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Nabintech