शेयरबजार पूँजीकरण ३६ खर्ब नाध्यो, बोर्डले ६ महिनामा कति दियो धितोपत्र निष्कासनको अनुमति ?


काठमाडौं । चालू आर्थिक वर्षको छ महिनामा नेपाल धितोपत्र बोर्डले २० अर्ब ५६ करोड बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको छ ।

सो अवधिमा बोर्डले १० अर्ब ४६ करोड रुपियाँ बराबरको साधारण शेयर, छ अर्ब ६४ करोड बराबरको डिबेन्चर, एक अर्ब ९६ करोड बराबरको हकप्रद शेयर र एक अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड गरी कुल २० अर्ब ५६ करोड बराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको हो । सूचीकृत कम्पनीमध्ये बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७१.९ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ६.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.७ प्रतिशत, होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा १५.७ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ पुससम्ममा सूचीकृत पाँच अर्ब ३५ करोड शेयरको चुक्ता मूल्य ५२५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को छ महिनासम्ममा एक खर्ब ५० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, १३ अर्ब ८३ करोड बराबरको साधारण शेयर, सात अर्ब २६ करोड बराबरको बोनस शेयर, सात अर्ब बराबरको डिबेन्चर दुई अर्ब ५० करोड बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युचुअल फन्ड गरी कुल एक खर्ब ८१ अर्ब २५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

२०७६ पुस मसान्तमा १२६३।४ रहेको नेप्से सूचकाक २०७७ पुस मसान्तमा २२८६.६ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाक १३६२.४ रहेको थियो । २०७७ पुषा मसान्तमा धितोपत्र बजार पुँजीकरण ३०७९ अर्ब ९४ करोड पुगेको छ ।

२०७७ असार मसान्तमा बजार पुँजीकरण १७९२ अर्ब ७६ करोड रहेको थियो । २०७७ पुषमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २१५ छन् ।

सूचीकृत कम्पनीमध्ये १४५ बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, चाररचार होटल तथा व्यापारिक संस्था र छ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीको सङ्ख्या २१२ रहेको थियो । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

३६ खर्ब रुपैयाँभन्दा बढी पुँजीकरण

६ महिनाको अन्तरालमा करिब १८ खर्ब रुपैयाँ बजार पुँजीकरण बढेर ३६ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । बजारसँगै कुल बजार पुँजीकरण पनि बढेको यो साता मात्रै नेप्सेको कुल बजार पुँजीकरण दुई खर्ब २७ अर्ब रुपियाँ बढेको हो ।

गत साता ३४ खर्ब छ अर्ब रुपैयाँ रहेको यस्तो पुँजीकरण यो साता बढेर ३६ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । गत साता ४५ अर्ब २७ करोडको सेयर खरिद बिक्री भएको बजारमा यो साता ४४ करोड १४ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

Nabintech