अब विमानस्थल दैनिक १८ घण्टा खुल्ने


काठमाडौं । त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको छ । आगामी १५ चैत (मार्च २८)बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुने छ । अहिले विमानस्थल दैनिक २१ घण्टा चलिरहेको छ ।

कोरोना महामारीका कारण अहिले अपेक्षा गरेजति उडान-अवतरण नभएपछि उडान अवधि घटाएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताएका छन् । कोरोना भाइरसको महामारीपछि खुलेको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान अहिले अपेक्षा गरेजति छैन् ।

बिहान साढे ६ बजे बाट खुल्ने विमानस्थल अब रातको साढे १२ बजे बन्द हुनेछ । यसबीचमा रातको समयमा उडान – अवतरण गरिरहेका कम्पनीले स्लट व्यवस्थापन गरी समय सार्न सकुन भन्ने उद्देश्यले अग्रिम मिति तय गरी विमानस्थल सञ्चालनको समय तोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानाएको छ ।

काठमाडौं विमानस्थलबाट अहिले औसत २ सय ३० हाराहारी उडान-अवतरण भइरहेका छन् । यसमध्ये १५ उडान अन्तर्राष्ट्रियतर्फ छन् । १ सय १५ हाराहारी आन्तरिक उडान छन् ।

Nabintech