मुम्बईको लगातार दोस्रो जित, अय्यरले बनाए शतक


काठमाडौं । भारतमा जारी विजयी हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत महाराष्ट्रविरुद्ध मुम्बई ६ विकेटले विजयी भएको छ ।

आज जयपुरमा भएको खेलमा महाराष्ट्रले दिएको २ सय ८० रनको लक्ष्य मुम्बईले ४७.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि कप्तान श्रेयस अय्यरले शतकीय इनिङ्स खेले । उनले ९९ बलमा ९ चौका र एक छक्कासहित अविजित १ सय ४ रन बनाए ।

त्यस्तै, शिवम दुवेले ४७, यशस्वी जैसवालले ४०, पृथ्वी शाले ३४, सूर्यकुमार यादवले २९ र सरफराज खानले अविजित १५ रनको योगदान दिए । बलिङमा सत्यजीत बच्छबले तीन र आजम काजीले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको महाराष्ट्रले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७९ रन बनायो ।

उसका लागि यश नहर र आजम काजीले शतक बनाए । यशले १ सय १९ र आजमले १ सय ४ रनको पारी खेले ।

त्यस्तै, कप्तान ऋतुराज गायकवाडले २९ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा धवल कुलकर्णी एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा दुई मेडनसहित ४४ रन दिएर पाँच विकेट लिएका हुन् ।

त्यस्तै, शार्दुल ठाकुर र तुषारदेशपाण्डेले एकरएक विकेट हात पारे । जारी प्रतियोगितामा मुम्बईले दुई म्याच खेल्दा दुवैमा जित हासिल गरेको छ ।

Nabintech