सरकारले २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने


काठमाडौं । सरकारले २७ लाख जेष्ठ नागरिकहरुलाई खोप लगाउने तयारी गरेको छ । पहिले अनुदानमा आएको र खरिद गरिएको २० लाख डोज खोप पनि अपुग भए कोभ्याक्समार्फत थप २२ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

सरकारले खरिद गरेको १० लाख डोज खोप आइतबार आज काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरिएको कोभिशिल्ड खोप आइतबार एयर इन्डियाको विमानबाट ल्याइएको छ । सेरम इन्ष्टिच्युटबाट २० लाख डोज खोप खरिदका लागि सरकारले रकम पठाइसकेको छ । बाँकी १० लाख खोप नेपालले माग गरेको समयमा उपलब्ध गराउने सहमति भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यसअघि भारतले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोपबाटै नेपालमा माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो । अहिले खरिद गरेको थप १० लाख डोज खोप उपलब्ध भएपछि अभियान निरन्तर चल्ने भएको छ र सरकारले समुदायस्तरमै पुगेर नागरिकलाई खोप दिनेछ ।

अनुदानमा उपलब्ध खोप सुरुमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शववाहन चालकसहित फ्रन्टलाइनरलाई दिइएको थियो । त्यसपछि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई दिइएको थियो । हाल उक्त खोप बैंक तथा वित्तीय संस्थाका कर्मचारी, नापी विभाग, जिल्ला प्रशासन कार्यालयका कमर्चारीले लगाइरहेका छन् । अनुदानमा प्राप्त १० लाख खोपबाट शनिबार साँझसम्म ४ लाख २ हजार जनाले खोप लगाएका छन् ।

अब फागुन २३ गतेदेखि ६० वर्षमाथिका ज्येष्ठ नागरिक, शिक्षक र सार्वजानिक यातायातमा कार्यरत कर्मचारीलाई खोप दिने स्वास्थ्य मन्त्रालयको तयारी छ । मन्त्रिपरिषदको बैठकले ५५ वर्षमाथिका नागरिकलाई दोस्रो चरणमा खोप दिने निर्णय गरेको थियो, मन्त्रालयले ६० वर्षमाथिकालाई मात्र अहिले खोप अभियानमा सहभागी गराउने तयारी गरेको छ ।

यद्यपि खोपको उपलब्धता हेरेर प्राथमिकता हेरफेर गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स्वास्थ्य चौकीबाट खोप अभियान सञ्चालन गर्ने तयारी भएको छ । ज्येष्ठ नागरिकले आफ्नो स्थानीय तहकै स्वास्थ्य संस्थाबाट खोप पाउनेछन् ।

Nabintech