• १४ बैशाख २०८१, शुक्रबार
प्रधानमन्त्रीले उद्घाटन गरेको नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड


दाङ । देउखुरीको सिसहनिया–महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेखमा त्रुटि भएको भन्दै तोडफोड भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक उद्घाटन गरेको पुलको शिलालेख तोडफोड भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजालले बताए ।

प्रधानमन्त्री ओलीले गत माघ १२ गते शिलालेख अनावरण गर्दै राप्ती पुल उद्घाटन गरेका थिए । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए । सुरक्षाको कारण देखाउँदै उद्घाटन कार्यक्रममा स्थानीयलाई निषेध गरिएको थियो । शिलालेख लेख्नेक्रममा त्रुटि भएको भन्दै तीन दिन अगाडि तोडफोड भएको डिएसपी रिजालले बताए ।

पुलको धेरैजसो भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै पुल उद्घाटन हुने दिनदेखि नै स्थानीय रुष्ट बनेका थिए । उनीहरुले शिलालेख सच्याउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आए पनि त्यो नभएपछि शिलालेख तोडफोड भएको प्रहरीको अनुमान छ ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ ।

Nabintech