सन्दिपसहित यी ३५ स्टार क्रिकेटरः जो आईपीएल ‘अक्सन’ मा बिकेनन्


काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल बिहीबार अक्सन सम्पन्न भएको छ।

चेन्नईमा भएको अक्सनमा विदेशी अलराउन्डरलाई लिन कडा प्रतिस्पर्धा भयो। थुप्रै चर्चित खेलाडीहरुलाई कुनै टोलीले नलिँदा सामान्य प्रदर्शन गरिरहेका र नवप्रवेशी विदेशी अलराउण्डरहरु महँगोमा बिक्री भएका भए।

अक्सनमा धेरै चर्चित खेलाडी ‘अनसोल्ड’ भएका छन्। पछिल्लो समय उत्कृष्ट लयमा रहेका खेलाडी पनि बिक्री हुन सकेनन्।

जसमा एलेक्स हेल्स, एलेक्स क्यारी, बेन म्याक्डमोर्टदेखि नेपाली लेगस्पिनर सन्दीप लामिछानेसम्म रहेका छन्।

४० लाख बेस प्राइसका साथ अक्सनमा नाम दर्ता गराएका सन्दीपलाई कुनै पनि टिमले अनुबन्ध नगरेको हो।

तत्कालीन दिल्ली डेयरडेभिल्सले सन् २०१८ को अक्सनमा सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो। उनले दिल्लीमा तीन सिजन बिताएका थिए।

सन्दीपले आईपीएल खेलेका कुल ९ खेलमा १३ विकेट लिएका छन्। सन् २०१८ मा ३ खेलमा ५ र २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए। गत वर्ष युएईमा भएको आईपीएल संस्करणमा दिल्ली पहिलोपटक फाइनलसम्म प्रवेश गर्दा सन्दीप भने बेन्चमै रहे।

सन्दीपले आईपीएलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरविरुद्ध सन् २०१८ मा डेब्यू गरेका गरेका थिए। उनले डेब्यू खेलमा चार ओभर बलिङ गरी २५ रन खर्चेर एक विकेट लिएका थिए।

‘अनसोल्ड’ हुने क्रिकेटरमा एलेक्स हेल्स, आरोन फिन्च, एलेक्स क्यारी, मार्टिन गुप्टिल, जेसन रोय, ग्लेन फिलिप्स, इभन लुइस, कुशल परेरा, बेन ड्वारह्युज, सन्दीप लामिछाने रहेका छन्।

यस्तै, कोरी एण्डरसन, ड्यान ब्रावो, रोभवेन पावेल, शन मार्श, मिचेल म्याग्लेनघन, जसन फेहनड्रफ, रस्सीवानडर दुसेन, कुरकितमान सिंह पनि अक्सनमा बिक्री हुन सकेनन्।

इस सोधी, आदिल राशिद, डेभन कोनवे, म्याथू वेड, शन एबट, जोश इंग्लिश, थिसरा परेरा, बेन म्याक्डमोर्ट, स्कट कुग्लाइन, वेन पर्नेल, क्रीस ग्रीन, इसरु उडाना, मार्नस लाबुसेन, नवीनउल हक, टिम डेविड, बिलि स्टानलेक र ओसेन थोमसलाई पनि कुनै टिमले लिएन।

Nabintech