• ७ बैशाख २०८१, शुक्रबार
१२ कम्पनीको आईपीओ पाइपलाइनमा, कुन कम्पनीको कति (सूचिसहित)


काठमाडौं । सेयर बजारमा १२ वटा कम्पनीको साडे चार अर्ब रुपैयाँ बराबरको आइपीओ आउने तयारीमा छ । यी कम्पनीको करिब ४ करोड ५० लाख ५१ हजार २५ कित्ता आइपीओ नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृतिको लागि पर्खाइमा छन् ।

पाइपलाइनमा रहेका १२ वटा कम्पनीहरुमा हाइड्रो पावर कम्पनी, लाइफ इन्स्योरेन्स, मर्चेन्ट बैंक र ३ वटा अन्य कम्पनीहरु रहेका छन् ।

केही समयअघिसम्म जलविद्युत कम्पनीको सेयर मूल्यमा गिरावट आएर यसमा आर्कषण लगानीकर्तामा थिएन ।

तर पछिल्लो समयभने धितोपत्र बजारमा दैनिक सयौँ नयाँ लगानीकर्ता थपिने क्रम बढ्दो छ । जस कारण बजारमा सेयरको माग दोब्बरले बढेसँगै जलविद्युत कम्पनीको सेयर मूल्यसमेत बढेको छ ।

केही महिना अघिसम्म जलविद्युत कम्पनीको आइपीओमा माग अनुसारको आवेदन पर्दैन थियो । तर, पछिल्लो समय मागको दोब्बर नै आवेदन जलविद्युत कम्पनीको आइपीओमा परिरहेको छ ।

माइलुङ्ग खोला जलविद्युत् कम्पनी २०७४ असोज २० गते नै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ करोड ३६ लाख २८६ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

यस्तै, सीईडीबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले २०७४ असार २७ गते २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्काशन गर्न आवेदन दिएर बसेको छ ।

जलविद्युत कम्पनीहरुको पाइपलाइनमा रहेका आइपीओमा सबैभन्दा बढीमध्य भोटेकोशी जलविद्युत कम्पनीको छ । कम्पनीले बोर्डमा २०७६ माघ ७ गते १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ जारीको लागि स्वीकृतको लागि आवेदन दिएको थियो ।

यसैगरी बोर्डमा साहस उर्जा कम्पनीको १ अर्ब ५ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आइपीओ ०७७ मंसिर ८ गतेदेखि र न्यादी हाइड्रोपावर कम्पनीको ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आइपीओ मंसिर १० गतेदेखि पाइपलाइनमा छ ।

साथै, बिन्दाबासीनी हाइड्रो पावर कम्पनीको २५ करोड रुपैयाँ बराबरको २५ लाख आइपीओ ०७६ माघ १ गतेदेखि र हिमालयन हाइड्रो पावर कम्पनीको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ ०७६ काक्तिक २७ गतेदेखि पाइपलाइनमा छ ।

यस्तै, साम्लिङ्ग पावर कम्पनीको १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आइपीओ ०७७ माघ ५ गतेदेखि र बुद्धभुमि नेपाल हाइड्रो पावर कम्पनीको १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ ०७७ माघ ८ गतेदेखि पाइपलाइनमा छ ।

बोर्डमा ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ जारी गर्न ०७७ मंसिर १९ गते आवेदन दिएको थियो । कम्पनीको आइपीओमा बोर्डले माघ २६ गते रिप्लाइ एण्ड अन्डर रिभ्यु गरिसकेको छ ।

साथै, सीबीआइएल क्यापिटलले ०७५ असार १२ गते ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपीओ जारी गर्न बोर्डमा आवेदन दिएको थियो । जसमा बोर्डले ०७५ साउनमा नै रिप्लाइ एण्ड अन्डर रिभ्यु गरिसकेको छ । अब कम्पनीबाट बोर्डले माग गरेको आवश्यक कागजात प्राप्त भएपछि थप प्रक्रिया पुरा गरी आइपीओ निष्काशनको अन्तिम स्वीकृत कम्पनीले पाउँछ ।

यसैगरी, बोर्डमा डिस मिडिया नेटवर्कको २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता आइपीओ पाइपलाइनमा छ ।

Nabintech