• ३१ भाद्र २०७८, बिहीबार
शेयर बजार प्रवेश गर्दा जान्नुपर्ने दुई दर्जन टिप्सहरु


काठमाडौं । लाभांश र बोनस शेयरः कम्पनीले आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो ।

यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने शेयरमा दिएमा बोनश शेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान शेयरवालाहरुलाई यस प्रकार थप शेयर(बोनश शेयर) प्रदान गरिन्छ वा चुक्ता पूँजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ ।

मर्चेण्ट बैंक, धितोपत्रको प्राथमिक निष्काशन कार्य प्रवन्धको जिम्मा लिने, प्रत्याभूति गर्ने तथा धितोपत्र कारोबारका लागि दरखास्त संकलन तथा विवरण जस्ता कार्यहरु गर्ने संस्थालाई मर्चेन्ट बैंक भनिन्छ ।

धितोपत्र दलाल, ग्राहकको तर्फबाट धितोपत्र खरीद बिक्री गरिदिने धितोपत्र ब्यवसायीलाई धितोपत्र दलाल भनिन्छ ।हाल नेपालमा ५० धितोपत्र ब्यवसायी दलाल कार्यरत छन् ।

धितोपत्र ब्यापारी, प्राथमिक बजामा निष्काशन भएका धितोपत्रहरु सवै वा केही खरीद गरी धितोपत्र बजार मार्फत बिक्री गर्ने र ग्राहकसँग लगानी करार गरी लगानी प्रवन्ध गर्ने जस्ता कार्यहरु गर्ने धितोपत्र ब्यवसायीलाई धितोपत्र ब्यापारी भनिन्छ । धितोपत्र ब्यापारीले ग्राहक वा आफ्नो नामबाट धितोपत्र दलाल मार्फत धितोपत्र खरीद बिक्री कारोबार गर्दछ ।

प्रतिशेयर बजार मूल्य, कुनै शेयरको धितोपत्र बजारमा कायम भएको मूल्यलाई प्रतिशेयर बजार मूल्य भनिन्छ ।

प्रतिशेयर आम्दानी, कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । प्रतिसेयर आम्दानीले सेयरवालाहरु तथा कम्पनी भन्दा बाहिरका ब्यक्तिहरुका लागि नाफाको महत्वपूर्ण माप प्रदान गर्दछ । प्रतिसेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिसेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ ।

नेट वर्थ, कम्पनीको चुक्ता पूँजी र सम्पूर्ण जगेडाहरुको कूल जोड नै कम्पनीको नेट वर्थ हो । नेट वर्थलाई कम्पनीको कूल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिशेयर नेट वर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ ।

बजार निर्माता, नेपाल सरकारको जमानतमा जारी भएको डिवेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरुमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरीद बिक्री कारोबार गर्ने संस्थालाई बजार निर्माता भनिन्छ ।

शेयर रजिष्ट्रार, संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई शेयर रजिष्ट्रार भनिन्छ ।

डिवेञ्चर, तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतः १ हजार रुपैँया हुन्छ । डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्दछन् । साधारण सेयर र अग्राधिकार सेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् ।

संगठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन । डिवेञ्चरवाला र संगठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । यदि, कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चालाउन सक्छन् । प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरु डिवेञ्चरमा लगानी गर्न रुचाउँछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन । डिवेञ्चरहरु सुरक्षित (कम्पनीको सम्पत्ति जमानत वा बन्धक राखी निष्काशन हुने) वा असुरक्षित, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने)वा अविमोच्य र परिवर्तनशिल (निश्चित समयावधि पछि साधारण सेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।

वारेन्ट, कुनै निश्चित समयमा तोकिएको संख्या र मूल्यमा साधारण सेयर खरीद गर्न सकिने गरी जारी गरिएको धितोपत्र औजारलाई वारेन्ट भनिन्छ । अर्को शब्दमा भविष्यमा कम्पनीको साधारण शेयर खरीद गर्न लगानीकर्ताहरुलाई दिइएको अधिकार नै वारेन्ट हो । सामान्यतः बण्डको निष्काशनलाई लगानीकर्ताहरु समक्ष आकर्षक गराउन बण्डसँगै वारेन्ट पनि दिइन्छ ।

भविष्यमा गएर वारेन्ट प्रयोग गरी साधारण सेयर लिने वा नलिने विकल्प सम्बन्धमा निर्णय लिन लगानीकर्ता स्वतन्त्र हुन्छ । वारेन्ट प्रयोग गर्दा यो साधारण सेयरमा परिवर्तन हुन्छ तर बण्ड भने जस्ताको तस्तै रहन्छ । वारेन्ट निष्काशन गर्दा भविष्यमा साधारण सेयर खरीद गर्नका लागि भुक्तानी गर्नुपर्ने मूल्य, वारेन्ट प्रयोग गरी साधारण शेयर प्राप्त गर्न सकिने अनुपात र वारेन्ट प्रयोग गरिसक्नुपर्ने समयावधि जस्ता कुराहरु खुलाइएको हुन्छ ।

ब्लू चिप शेयर, संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ लाभांश प्रदान गर्दै आउनुको साथै लगानीकर्ताहरुप्रतिको जवाफदेहिताप्रति सजग हुदै लगानीकर्ताहरुको विश्वास समेत जित्न सफल हुने संस्थाको सेयरलाई ब्लू चिप सेयर भनिन्छ । यस प्रकारका सेयरहरुको प्रायः बढी मूल्य कायम भै रहेको हुन्छ भने लाभांश मध्यमस्तरको प्राप्त भैरहेको हुन्छ ।

धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली, सम्पूर्ण धितोपत्रवालाहरुको धितोपत्रहरुको जिम्मा लिई खरीद बिक्रीको रेकर्ड, नमासारी, हस्तान्तरण जस्ता कार्यहरु सरल र छिटो छरितोरुपमा सम्पन्न गर्न सघाउ पुर्याउने प्रणालीलाई धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली भनिन्छ ।

निक्षेपकर्ताहरुले बैंकमा रकम राखे जस्तो धितोपत्रवालाहरुले यस प्रणाली अन्तर्गत आफ्ना धितोपत्रहरु निक्षेप राखी खाता खोल्न सक्छन् । यस प्रणालीले धितोपत्र नासिने, हराउने, चोरी हुने, नक्कली सेयर निस्कने जस्ता समस्याहरु हटाउँदछ । साथै यस प्रणालीले कारोबार लागत घटाउन समेत मद्दत गर्दछ ।

प्रत्याभूति, प्राथमिक बजारमा निष्काशन हुने धितोपत्रहरुको बिक्री नभएमा त्यस्तो धितोपत्रहरु खरीद गर्ने कवुलियत गर्नुलाई धितोपत्रको प्रत्याभूति भनिन्छ । प्रत्याभूतिकर्ताले धितोपत्रको प्रत्याभूति गरे वापत सम्बन्धित निष्काशनकर्ता कम्पनीबाट सम्झौता बमोजिमको शूल्क प्राप्त गर्दछन् ।

विवरणपत्र, सार्वजनिकरुपमा धितोपत्र निष्काशन गर्नु अघि सम्बन्धित संगठित संस्थाले विवरणपत्र प्रकाशन गर्नुपर्दछ । विवरणपत्रमा धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्थासँग सम्बन्धित विस्तृत विवरणहरु खुलाइएको हुन्छ र लगानीकर्ताहरुलाई उक्त विवरणहरुको आधारमा सम्बन्धित संगठित संस्थाको धितोपत्रमा लगानी गर्ने वा नगर्ने भनी निर्णय गर्न सघाउ पुग्दछ ।

धितोपत्रको अधिक र न्यून माग, सर्वसाधारणमा निष्काशन खुल्ला गरिएका धितोपत्र खरीदका लागि धेरै दरखास्त परी निष्काशन गरिएको भन्दा बढी धितोपत्रहरुको माग स्थितिलाई धितोपत्रको अधिक माग र कम धितोपत्रको माग भएको स्थितिलाई धितोपत्रको न्यून माग भनिन्छ । धितोपत्रको अधिक माग भएको स्थितिमा कम कम परिमाणमा माग गर्ने समूहलाई बढी र क्रमशः बढ्दो परिमाणमा धितोपत्रको माग गर्ने समूहलाई क्रमशः कम भार दिई धितोपत्र बाँडफाँट गर्नुपर्ने ब्यवस्था रहेको छ ।

थप मूल्य, धितोपत्र निष्काशन गरिने मूल्य र अंकित मूल्य विचको फरकलाई प्रिमियम भनिन्छ । धितोपत्रको अंकित मूल्य भन्दा बढी मूल्यमा धितोपत्र निष्काशन गरिएको अवस्थालाई प्रिमियममा धितोपत्र निष्काशन गरिएको भनिन्छ ।

खरीद प्रस्ताव तथा बिक्री प्रस्ताव मूल्य, कुनै सम्भावित खरीदकर्ताले तिर्न चाहेको धितोपत्रको मूल्यलाई प्रस्तावित मूल्य भनिन्छ । धितोपत्र बजारको कारोबार पाटीमा धितोपत्र दलालहरुद्वारा अंकित गराइएको मिलेपछि धितोपत्र खरीद बिक्री कारोबार सम्पन्न हुन्छ ।

सूचीकृत धितोपत्रको चुक्ता मूल्य, सम्पूर्ण धितोपत्रवालाहरुद्वारा चुक्ता गरिएको सूचीकृत धितोपत्रको मूल्यको कूल जोडलाई धितोपत्रको चुक्ता मूल्य भनिन्छ ।

बजार पुँजीकरण, धितोपत्र विनिमय बजारमा सूचीकृत सम्पूर्ण धितोपत्रहरुको बजार मूल्यको कूल जोडलाई बजार पूँजीकरण भनिन्छ । बजारमा सूचीकृत धितोपत्रहरुको संख्या र तिनको आआफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पूँजीकरण प्राप्त हुन्छ ।

बजार परीसूचक, सूचीकृत धितोपत्रहरुको आजको कूल बजार मूल्य र कुनै आधार वर्षको कूल बजार मूल्य बीचको अनुपात नै बजार परीसूचक हो । सूचीकृत धितोपत्रहरुको मूल्य बढेमा यो परिसूचक बढ्दछ भने घटेमा घट्दछ । नेपालमा नेपाल धितोपत्र विनिमय बजार लि। ले प्रत्येक दिन यस प्रकारको परीसूचक तयार गर्दछ, जसलाई नेप्से परिसूचक भनिन्छ ।

मूल्य सम्वेदनशील सूचना, कम्पनीद्वारा गरिएको लाभांश वितरण वा बोनश सेयर निष्काशन सम्बन्धी घोषणा, ब्यवस्थापन परिवर्तन, विस्तार योजना, वित्तीय परिमाणहरु, अन्य पक्षहरुसँग हुने महत्वपूर्ण सम्झौताहरु तथा धितोपत्रको मूल्यमा प्रत्यक्ष असर पुयाउने घट्ना तथा अन्य सूचना र जानकारीहरुलाई मूल्य सम्वेदनशील सूचना भनिन्छ ।

भित्री कारोबार, नियमानुसार कम्पनीका लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने तर सार्वजनिक भइनसकेका कम्पनीको सूचनाहरुको आधारमा कम्पनीसँग प्रत्यक्ष सम्बन्धित ब्यक्ति वा निजको नजिकको ब्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार भनिन्छ । यस प्रकारको कारोबार गर्न प्रचलित ब्यवस्थाले बन्देज लगाएको छ ।

Nabintech