• १६ चैत्र २०८०, शुक्रबार
६ महीनामा ४ दशमलव ८ प्रतिशतले घट्यो आयात


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महीनामा वस्तु आयाततर्फ ४ दशमलव ८ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ६ दशमलव १ प्रतिशतले वृद्धि भएर ६० अर्ब ८० करोड रुपियाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ६ महीनाको आर्थिक तथा वित्तीय तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ८ दशमलव ४ प्रतिशत र ४ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फको निर्यातमा भने ५० प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा अलैंची, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान, पस्मिना, चाउचाउलगायत वस्तुको निर्यात बढेको छ । त्यस्तै पाम तेल, दाल, जस्तापाता, जुस, तारलगायत वस्तुको निर्यात घटेको छ ।

यस्तै आव २०७७/७८ को ६ महीनामा कुल वस्तु आयात ४ दशमलव ८ प्रतिशतले घटेर ६ खर्ब ६१ अर्ब २५ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८ दशमलव ५ र १७ दशमलव ४ प्रतिशतले कमी आएको छ । आव २०७७/७८ को ६ महीनामा कुल वस्तु व्यापार घाटा ५ दशमलव ८ प्रतिशतले घटेर ६ खर्ब ४५ करोड रुपियाँ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६ दशमलव १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९ दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव २ प्रतिशत रहेको थियो ।

Nabintech