• ७ बैशाख २०८१, शुक्रबार
रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका २४ जना रिहा


ललितपुर । पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा पक्राउ परेका सबै जना सोमबार रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक घटनामा पक्राउ परेका २४ जनाविरुद्ध अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाएको थियो । छुट्नेहरुमा महेश बज्राचार्य, पृथविन्दु महर्जन, यादवलाल कायस्थ, ध्रुवराज बज्रचार्य, श्याम था, रवि शाक्य, असोज महर्जन, रविन शाक्य, सुविन शाक्यलगायत छन् ।

प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बयानका आधारमा उनीहरुलाई कसुरको मात्रा हेरेर न्यूनतम सजाय गरी छोड्ने फैसला गरेको बताए । राष्ट्रप्रमुख उपस्थित भएर सम्पन्न गरिने मत्स्येन्द्रनाथ रथ यात्रा बारेमा सरकारले अनिर्णयको बन्दी बनाएर विचल्लीमा पारेको भन्दै उनीहरु भदौ १८ मा स्वतःस्फुर्त रुपमा बाहिर निस्केका थिए ।

झडपपछि क्षमापूजा गरेर भदौ २१ मा रथ तानेर पुल्चोकबाट अलि पर सोह्रखुट्टे पाटीसम्म पुर्‍याइ भोलिपल्ट जात्रा मनाइएको थियो । भदौ २६ मा मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखेर बुङमती लगिएको थियो ।

परम्पराअनुसार मत्स्येन्द्रनाथ सूर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना पाटन मत्स्येन्द्रबहालस्थित मन्दिरमा बास बसालिन्छ । कोभिड–१९ महामारीका कारणले यस वर्ष नरिवल खसाल्ने र भोटो भने देखाइएन ।

Nabintech