• १६ चैत्र २०८०, शुक्रबार
आफु विरुद्ध आलोचना गर्ने पत्रकारहरु नर्कमा जान्छन् :केपी ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पित पत्रकारिता देशको ठूलो समस्या भएको बताए ।

आफू निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्वोधनका क्रममा ओलीले भने, अहिले केही सञ्चार माध्यम ‘राम्रो कुरा देख्न पर्छ भने आँखा छोप्छु, राम्रो कुरा सुन्नुपर्छ भने कान थुन्छु । तर सुन्दिन, हेर्दिन, बोल्दिन’ भने जसरी प्रस्तुत भएको उनले बताए ।

नेकपामा आफ्नो समूहसँग निकट नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रधानन्त्री ओलीले केही सञ्चार माध्यम झुटो छापेर जनतालाई दिग्भ्रमित पार्न लागेको बताए । उनले अघि भने, ‘स्वार्थबाट अन्ध हुन्छ वा आत्म बेच्छ, त्यसपछि नर्क पर्छ । नर्कमा गएपछि फर्किन सक्दैन ।’

हलमा उपस्थित पत्रकारहरुलाई सम्बोधन गर्दै उनले स्वार्थका लागि समाचार नलेख्न आग्रह गरे । उनले भने, ‘यो पार्टीसँग निकट भएकाले म तपाईहरुलाई आग्रह गर्छु, पत्रकार हुँ भन्ने वित्तिकै फलानो पार्टीको हो भनेर चिनोस् ।’

सम्बोधनको अधिकांश समय पत्रकारिताकै विषयमा बोलेका ओलीले सभ्यता नभुल्न आग्रह गरे । सबैलाई तिमी भनेर पत्रकारहरुले आफ्नो सभ्यता बिर्सिएको ओलीले दोहोर्‍याए । ओलीले आजभोलि सबैलाई पत्रकारहरुले तिमी भन्ने गरेकोमा ओलीले आपत्ति जनाए । ‘उहाँले खानुभयो भन्दैनथियौं, ज्युनार भयो । हिँड्नुभयो भन्दैनथ्यौं, सवारी भयो । आज हामीलाई हिँड्नुभयो, खानुभयो भन्न पनि गाह्रो छ । हिँडे, खाए । उनले हेरे, यस्तो भाषा मात्रै बोल्छौं’ ।

प्रधानमन्त्री ओलीले मानव समाज चरा जस्तो नभएकाले सभ्य भाषा प्रयोग गर्न आग्रह गरे । उनले बाआमा, हजुरआमाहरुलाई तिमी भन्ने भाषा प्रयोग मामुली कुरा नभएको टिप्पणी गरे ।

Nabintech