प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यात्मक कदम:उपप्रधानमन्त्री पोखरेल

गगन थापालाई मेयर शाक्यको चुनौती : मेरो वडा सदस्यसँग चुनाव लडेर देखाउनुस्



काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार चल्ने अवस्था नभएर अफ्ट्यारो अवस्था आएकाले ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताएका छन् ।
आइतबार काठमाडौं महानगरपालिका वडा नं ४ मा निर्माण हुन् लागेको मनमोहन पार्कको शिलान्यास कार्यक्रममा बोल्दै उनले संसद विघटन गर्दै नयाँ निर्वाचनमा जाने सरकारको निर्णय बाध्यात्मक कदम भएको बताएका हुन् ।

उनले भने ‘सरकारको कदम ठिक छ भन्ने लाग्छ भने जनताले पुरस्कृत गर्नेछन्, अनुचित लाग्यो भने जनताले दण्डित गर्नेछन् ।’ गुरु मन्त्र भनेकै जनताकै साथ रहेको बताउँदै उनले हरेक विकासका काममा जनताको साथ र सहभागिता विना सम्भव नभएको बताए ।

यस्तै प्रदेश सांसद तथा नेकपा केन्द्रीय सदस्य नारायण सिलवालले११ रोपनी क्षेत्रफलमा पार्क निर्माणको लागी बजेट विनियोजन गर्ने महानगरपालिकालाई धन्यवाद दिए । साना ठुला गरी दर्जनभन्दा बढी पार्क ४ नम्बर वडामा बन्दै गरेको उल्लेख गर्दै उनले सङ्घीय, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा विकासका काम भइरहेको बताए ।

उनले भने ‘काठमाडौंको सुन्दरता पुनर्स्थापना गर्न र यसलाई बस्न लायक सहर बनाउन सरसफाइ , हरियाली अभियान र थुप्रै सानाठूला सार्वजनिक पार्क निर्माण भइरहेको छ । खुसीको कुरा, यी सबै काम आम नागरिकको बल बुताले गर्न सम्भव छ ।’

गगन थापालाई मेयर शाक्यको चुनौती : मेरो वडा सदस्यसँग चुनाव लडेर देखाउनुस्

यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नेपाली काँग्रेसका युवा नेता गगन थापालाई राष्ट्रपति सँग नभई महानगरपालिकाका वडा सदस्यसँग चुनाव लडेर देखाउन चुनौती दिए । थापाले केवल चर्चामा आउने उद्देश्यले जे पनि बोल्ने गरेको आरोप लगाए ।

काठमाडौं महानगरपालिका वडा नं ४ का सदस्य ध्रुव त्रिपाठी तर्फ सङ्केत गर्दै उनले खाली ठुलो पदमा बसेका व्यक्तिलाई गाली गरेर चर्चा कमाउने ध्यान छोडेर वडामा आएर निर्वाचन लडी विजयी बन्न चुनौती दिए । काठमाडौं महानगरपालिका र अन्य नगरपालिकामा भएका विकास र जन पक्षीय काम बाट डराएर गलत प्रचारबाजीको बाटो लिएकोमा दुख व्यक्त गर्दै उहाँले थापालाई जनमतको असली परीक्षणका लागि मैदानमा आउन चुनौती दिए ।

विकासका ९० प्रतिशत काम सकियो : वडाध्यक्ष विष्ट

यस्तै काठमाडौं महानगरपालिका ४ का वडाध्यक्ष मोहन विष्टले विकास निर्माणका ९० प्रतिशत काम सम्पन्न भैसकेको दाबी गरे । स्थानीय तहको निर्वाचन भएको ४ बर्ष पुरा हुनै लाग्दा यी काम भएको वडाध्यक्ष विष्टको दाबी छ ।

विकासका काम सफल बनाउन वडा सदस्यसहित सबै पदाधिकारीको उत्तिकै भूमिका रहेको उनले बताए । वडा नम्बर ४ मा अतिक्रमणमा रहेका सरकारी जग्गा वडा मातहत ल्याएर पार्क निर्माण तीव्र बनाइएको समेत वडाध्यक्ष विष्टले जानकारी दिए । अहिलेसम्म ७२ रोपनीभन्दा बढी सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याई सकिएको उनले जानकारी दिए ।

विष्टले भने ‘अहिलेसम्म शिवस्थली २५ रोपनी, मनमोहन पार्क ११ रोपनी (कृष्ण गल्ली धुम्बाराही), बाजे (बज्यै पार्क ८ रोपनी, कपन मार्ग ६ रोपनी, धुम्बाराही हाइट ३ रोपनी, अन्नपूर्ण मार्ग ९ आना, रारा पार्क ३ रोपनी, हालको वडा कार्यालय १ रोपनी, टुसाल पार्क २ रोपनी, धुम्बाराही पार्क १२ रोपनी र डिडि पार्क ९ आना गरी जम्मा ७२ रोपनी २ आना सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याइएको छ ।’ वडा भित्रका सार्वजनिक जग्गामा विभिन्न व्यक्तिहरूले टहरो बनाएका, भाडा खाएका, भोग चलन गर्दै आएका तथा साध मिचेका व्यक्तिहरूबाट नेपाल सरकारको मातहतमा ल्याउन सफल भएका उनले बताए ।

कार्यक्रम संविधानसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य रत्न गुरुङ, प्रदेश सांसद तथा नेकपा केन्द्रीय सदस्य दीपक निरौला, प्रदेश सांसद सीता अधिकारी दाहाल, नेकपा केन्द्रीय सदस्य हरि अधिकारी, शिवकुमारी खनाल, बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेललगायत उपस्थित थिए । वडा नम्बर ४ मा रहेका सबै टोल सुधार समितिका पदाधिकारीहरूको पनि सहभागिता थियो ।

 

 

 

Nabintech