कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन ओलीले षड्यन्त्र गरे:माधवकुमार नेपाल


काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन षड्यन्त्र गर्न खोजेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा प्रतिनिधिसभा विघटनकाविरुद्ध आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताउनुभएको हो ।

ओलीको कम्युनिष्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको बताउनुभयो । प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेशिता र धर्म निरपेक्षता प्रति कुनै अपनत्व नभएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको उनले जिकिर गर्नुभयो । प्रतिनिधि सभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको पनि अध्यक्ष नेपालले बताउनुभयो ।

देशलाई लोकतन्त्र र स्थायित्वको बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्तिहरुबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बेला आएको पनि बताउनुभयो ।

Nabintech