• १४ बैशाख २०८१, शुक्रबार
सेनाको एकीकरण पदयात्रा हनुमानढोका आइपुग्यो,गोरखा–काठमाडौं एकीकरण मार्गलाई पर्यटनसँग जोड्न स्थानीयको माग


काठमाडौं । गोरखा दरबारबाट शुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका आइपुगेको छ।

पुस २१ गते देखि गोरखा दरबारबाट सुरु भएको ‘गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा’ आइतबार (पुस २६ गते) साँझ काठमाडौंको हनुमानढोकामा रहेको शार्दुलजंग गुल्ममा आइपुगेको हो।

हनुमानढोका दरबारमा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लबहरु, सर्वसाधारण लगायतले स्वागत गरेका थिए।सो अवसरमा शम्शेरदल गणले हनुमानढकोकामा तैनाथ शार्दुलजंग गुल्मलाई कार्यक्रम आयोजना गरी सैनिक ड्रिलको प्रदर्शन समेत गरेको थियो।

आइतबार विहान श्री शम्शेरदल गणले नार्गाजुनले नुवाकोटको ककनीबाटबाट टोलीको हस्तान्तरण लिदै पाँचमाने हुँदै अपरान्ह १२ बजे तीनपिप्ले हुदै गढि आइपुगेको थियो । पदयात्रामा नेपाली सेनाले गोरखा दरबारबाट राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्च लगायत नेपाली सेनाको प्रथम पाँच वटा युनिटहरुको झण्डा काठमाडौं ल्याइपुर्याएको छ।

नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा प्रयोग गरेको एकीकरणको बाटो हिंडेर एकताको सन्देश दिएको शम्शेरदल गणकका प्रमुख सेनानी उमेश श्रेष्ठले बताउनुभयो ।

आइतबार नुवाकोट जिल्लाको ककनीबाट आएको शम्शेरदल गणको टोलीले हनुमानढोकामा रहेको शार्दुलजंग गुल्मलाई गोरखा दरबारदेखि ल्याएको राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै नेपाली सेनाको प्रथम पाँच वटा युनिटहरुको झण्डा हस्तान्तरण गरीएको शम्शेरदल गणका प्रमुख सेनानी उमेश श्रेष्ठले बताउनुभयो ।

सैनिक पदयात्रा टोलीलाई काठमाडौँको तारकेश्वर नगरपालिका–३ पाँचमानेगढीमा जनप्रतिनिधि र स्थानीयवासीले अक्षता, माला र खादालगाएर स्वागत अभिवादन गरेका थिए । सो अवसरमा त्यहाँका महिलाको नेतृत्वमा रहेको लोकसंस्कृति नौमती बाजा समूहले हर्षोेल्लासका साथ टोलीलाई स्वागत अभिवादन गर्नुका साथै टोलीसँग निकै खुसियालीका साथ लोकनृत्य प्रस्तुत गरेको थियो ।

एकीकरण मार्गमा सेनाले पदयात्रा सञ्चालन गरेकामा खुसी व्यक्त गर्दै तारकेश्वर नगरपालिका वडा नंम्वर ५ का वडाअध्यक्ष बासुप्रसाद गौतम भन्नुहुन्छ, ‘नेपालको गौरवपूर्ण इतिहास जोडिएको एकीकरण मार्गलाई पर्यटन पदमार्गका रुपमा विकास गरी आर्थिक समृद्धिसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’ गौतमले भन्नुभयो, ‘विगतमा सुनेको विषय अहिले सेनाका कारण प्रत्यक्ष देख्न पाइयो, पृथ्वीनारायणले नेपाललाई एकीकरण गर्नुुभएको हो, उहाँ एकीकरणका नायक हुनुहुन्छ, हामीले इतिहासलाई संरक्षण गर्नुपर्छ ।’

पदयात्रामा रहेको टोलीले ल्याएको नेपालको झण्डा, टर्च र नेपाली सेनाको झण्डा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सोमबार प्रधान सेनापतिलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोरखादेखि काठमाडौँसम्म ओहोरदोहोर गरेका बाटामा गत वर्षदेखि नेपाली सेनाले पदयात्रा गर्दै आएको छ ।

सरकारले गोरखादेखि काठमाण्डौसम्मको पुरानो बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गर्ने योजना अघि सारेको छ । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाण्डौबाट काभ्रेसम्मको झण्डै १ शय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रुपमा प्रवर्द्धन गर्न लागेको हो ।

Nabintech