• ७ बैशाख २०८१, शुक्रबार
अमेरिकाबाट फर्किएका श्रीमानको हत्या गरी कोठाभित्रै झुण्डिए श्रीमतीले गरिन् आत्महत्या


काठमाडौं । काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् ।

उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए । सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको थियो ।

गएराति उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए भने श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएकाले सिलौटो प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एक अधिकारीले बताए ।

‘कोठाभित्रबाट लक थियो । त्यसैले बाहिरबाट कोही गएर हत्या गरेको पनि देखिँदैन,’ ती अनुसन्धान अधिकृतले भने, ‘श्रीमानको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।’

यद्यपि विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका डिएसपी प्रमिश विष्टले घटनाबारे आफूहरुले गएराति पौने नौ बजे खबर पाएको र त्यसलगत्तै घटनास्थलमा पुगेर मुचुल्का उठाइ पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिए ।

Nabintech