न्यायाधीश कार्कीलाई वकिलहरुको प्रश्न:प्रतिनिधिसभा विघटनविरुद्धको रिटको इजलासमा बस्न तपाईंको नैतिकताले दिन्छ श्रीमान् ?

नैतिक प्रश्न उठाएपछि संवैधानिक इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा



न्यायाधीश कार्कीलाई वकिलहरुको प्रश्न:प्रतिनिधिसभा विघटनविरुद्धको रिटको इजलासमा बस्न तपाईंको नैतिकताले दिन्छ श्रीमान् ?

काठमाडौं । चौतर्फीरूपमा प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनविरुद्ध बहस हुने संवैधानिक इजलासमा नबस्ने घोषणा गर्नुभएको छ ।

केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री छँदा महान्यायधिवक्ता रहेनुभएका प्रधानमन्त्री ओली नै विपक्षी रहेको रिटमाथिको सुनुवाइमा बस्न नमिल्ने भन्दै चौतर्फी विरोध भएपछि कार्कीले यस्तो घोषणा गर्नुभएको हो ।

बुधबारको सुनुवाइमा पनि वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले संवैधानिक इजलासमा न्यायाधीश कार्कीको सहभागिताबारे प्रश्न उठाउनुभएको थियो ।

वरिष्ठ अधिवक्ता थापाले ‘प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ हुने इजलासमा बस्न तपाईंको नैतिकताले दिन्छ श्रीमान् ?’ भन्दै न्यायाधीश कार्कीलाई प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको महान्यायाधिवक्ता बनेको र अहिलेका महान्यायाधिवक्ता अग्नि खरेलको ल फर्मको पार्टनर भएको व्यक्ति कसरी संसद् विघटनविरुद्धको बहसमा संवैधानिक इजलासमा बस्न मिल्छ ?’ थापाले प्रश्न गर्नुभएको थियो ?

त्यसअघि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीश कार्की बस्दा फैसला विवादित हुने भन्दै विवेक प्रयोग गर्न आग्रह गर्नुभएको थियो ।

‘मैले यसअघि पनि माननीय न्यायाधीश कार्कीले यो रिट हेर्न हुनेरनहुने विषयमा प्रश्न गरेको थिएँ, न्यायाधीश स्वयंले विवेक प्रयोग गनुपर्छ,’ त्रिपाठीले भन्नुभएको थियो । वरिष्ठ अधिवक्ताहरूले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले आफू यो विषय हेर्ने संवैधानिक इजलासमा नबस्ने बताउनुभएको हो ।

बुधबारको सुनुवाइको शुरूआतमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गर्नुभएको थियो । श्रेष्ठले गम्भीर संवैधानिक व्याख्यामा वृहत् पूर्ण इजलासको माग गर्नुभएको थियो । त्यसपछि प्रधानन्यायाधीश राणाले वृहत् पूर्ण इजालस कुन निवेदनमा माग गरिएको छ भनेर प्रश्न गर्नुभयो ?

त्यसपछि बहस रोकेर इजलास अधिकृतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिट पढेर सुनाएका थियो ।

विघटित प्रतिनिधि सभामा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलगायत १२ जना निवेदकले यो मुद्दा १२ जनाभन्दा बढी न्यायाधीश भएको वृहत् पूर्ण इजलासमा हेर्न सर्वोच्चमा निवेदन दिएका थिए ।

प्रधानन्यायाधीश राणा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी हुनुहुन्छ ।

प्रधानन्यायाधीश राणाले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि अर्को सुनुवाइ अर्को हप्ता आगामी बुधवार हुने गरी तोक्नुभएको छ ।

Nabintech