काठमाडौं उपत्यकामा भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा थपियो,होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुने


काठमाडौं । काठमाडौं उपत्यकामा तेस्रोपटक निषेधाज्ञा एकसाता थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको वैठकले निषेधाज्ञा थप गर्न गृहमन्त्रालयलाई सुझाव दिएका थिए । उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो ।
आज राति १२ बजेदेखि २४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको गृहमन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले जानकारी दिनुभयो ।
यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको समय आज मध्यराति सकिँदैछ । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।
निरन्तर दुई साता लामो निषेधाज्ञापछि तेस्रो पटक थपिएको समयसीमामा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको बताइएको छ । अब, भन्सार तिरेका गाडी र मोटरसाईइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ ।

स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ । भने होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।
संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ ९३० अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरेका थिए ।

Nabintech