• १६ चैत्र २०८०, शुक्रबार
 यतिबेला मेराे माटाे स्वार्थहरुकाे घेराबन्दीमा छ !


  (कविता )
आह्वान 
यतिबेला मेराे माटाे
स्वार्थहरुकाे घेराबन्दीमा छ
त्यसैले नेपथ्यबाट
जात-धर्मकै नाममा
धर्म र संस्कृतिकै
हाम्रो पहिचान र अस्तित्वकै
निरन्तर गरिरहेछ सिकार
लडाइरहेछ निरन्तर
एक-आपसमा
खण्डित गरेर हाम्रा बिश्वासहरु
र हामि रोपिरहेछौँ एक-अर्कामा
विष- वृक्षहरु।
जातमा विभेद
लिङ्गमा विभेद
धर्ममा विभेद
विविधतामा विभेद
खै कहाँ गयो हाम्रो
“अनेकतामा एकता”?
कहाँ हरायो
हिमाल,पहाड र तराईको मित्रता ?
एक भाइ इट्टाले
अर्को भाइ इट्टाको साथ छोड्ने हो भने
भत्किएरै छोड्नेछ घर
यसरी नै भत्किरहेछ देश क्रमश:
बुद्धकाे अनुपस्थितिमा
व्यापक अशान्तिसँग
देशमा बलभद्रपनि त छैनन्
जङ्गे पिलरहरु घाइते छन्।
बुद्धभूमिकाे एक मुठ्ठी माटाे
याे युद्धभूमिलाई अर्पित गर्दै
जलजलाकाे शिखर चुमेर
के गर्नेबेला भएन र
दिगो शान्तिकाे शंखघाेष ?
मुखरित गर्नु छ
आवाजहीन आवाजहरु
भत्काउनुछ विभेदका पर्खालहरु
एक एक गर्दै
दाहसंस्कार गर्नुछ अबिलम्ब
विकृति, विसंगतिहरुको
कोर्नु छ
नयाँ बिहानीको चित्र
शान्ति र सम्बृद्धिकाे रंग पोती
एकताको कुचीले
राष्ट्रिय स्वाभिमानकाे क्यानभासमा।
आउनुहोस अब त
फेरी एकपटक देशकाे माटाेमा
बुद्ध रोपौँ, शान्ति फलाऔँ
भिमसेन रोपौँ, स्वाभिमान फूलाऔँ
विचारको बगान
भिजेन बुढो पसिनाले
जागौँ युवाहरु
कम्मर कसेर
राष्ट्रको पुन:निर्माण गरौँ।
       -हिमाेढ पहाडी
दाङ
हाल: पाेर्चुगल

Nabintech