• ७ बैशाख २०८१, शुक्रबार
भ्रष्टाचारीहरु बालुवाटारमा अघाउन नसकी गाउँमा पसे !


गजल

याद बोकेर हिँडेको छाती हो नसोध्नु कस्को कति आउँछ ।

जति याद गर्दिनँ भनिरहेको हुन्छु झन् बेसरी आउँछ ।

नेतालाइ भोट, कसैलाई दिल दिएर पछुताउनु उस्तै हो ,

यो बुद्धि पनि अजिबको हुन्छ, समय बितेपछि आउँछ ।

भ्रष्टाचारीहरु बालुवाटारमा अघाउन नसकी गाउँमा पसे,

सङ्कटलाइ अवसर मानेर सिमाना मिच्दै छिमेकी आउँछ ।

सरकार ! तिम्रो महलमा मच्छरलाई प्रबेस निषेध होला,

मेरो घरमा राहत स्वरुप च्यातिएको मच्छरदानी आउँछ ।

मालीक रङ्गिन जिवनको व्याख्या नगर्नुहोस् मेरो सामु,

मेरो सादा जिन्दगीमा सपना मात्र रङ्गिचङ्गी आउँछ ।

यो झुपडीमा मैले बडो मुस्किलले आजको छाक टारेको हुँ,

निसाना साँधेर मेरै आँगनमा पहिरो आउँछ बाढी आउँछ।

आउँछ भनिएका कुरा कहिलै आएनन् गरिब बस्तीहरुमा,

भन्न त भनिएको हो निरन्तर बाटो आउँछ बिजुली आउँछ ।

रेशम राज बोगटी क्षेत्री(रश्म)
दोधाराचाँदनी,सुदुरपश्चिम ( कञ्चनपुर)

Nabintech