• १३ बैशाख २०८१, बिहीबार
कोरोना भाइरसले काठमाडौं सहित एकै दिन ३ जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो


काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा काठमाडौंसहित ३ जिल्लामा ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका वडा नं ६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार ती महिलालाई साउन १८ गते कोभिड १९ पुष्टि भएको थियो । पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी रहेकी ती महिला आईसीयूमा उपचाररत थिइन् । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको हो ।

यस्तै कोरोनाबाट पर्सा वीरगन्ज महानगरपालिका वडा नं ३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको मन्त्रालयले जनाएको छ । ती पुरुषमा मृत्युपछि लिइएको स्वाब नमुनाको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । उनी मधुमेह तथा दमका रोगी थिए ।

यस्तै, मोरङ विराटनगर(९ बस्‍ने ५८ वर्षीय पुरुषको साउन २३ गते कोसी अस्पतालमा शुक्रबार मृत्यु भएको थियो । उनी उच्च रक्तचापका रोगी थिए ।

Nabintech