सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार र प्रचण्डका प्रेस सल्लाहाकारविच जुहारी

‘आकाश खसे जसरी, धर्ती भासिए जसरी’ उत्तेजित र उद्देलित हुन जरुरी छैन –सापकोटा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ४ नेताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाएपछि प्रचण्ड सचिवालयले खण्डन गरेको छ ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बुधबार प्रचण्डसहित नेता र पत्रकारहरूबीचको भेटलाई गलत तरिकाले प्रचार गरिएको बताउनुभएको छ ।
फेसबुकमा एक लामै स्टाटस लेखि उक्त कुराको खण्डन पनि गर्नुभएको छ ।

यस्तो सापकोटाको खण्डन 

हिजो (२१ साउन २०७७) मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष क. प्रचण्ड, वरिष्ठ नेताद्धय क.झलनाथ खनाल, क.माधवकुमार नेपाल र प्रवक्ता क.नारायणकाजी श्रेष्ठको उपस्थीतिमा भएको ‘प्रेस भेटघाट’ पछि केही उत्तेजनापूर्ण अभिव्यक्तिहरु सुन्नमा आएको छ । केही साथीहरुले यसलाई प्रेस संगठन, नेपालको भेलाको रुपमा गलत प्रचार गरेका छन् । तर, सत्य त्यो होइन ।
१) पहिलो, त्यो प्रेस संगठन, नेपालको भेला थिएन । मुलतः नेकपा बिटमा रिपोटिङ्ग गरिरहेका पत्रकार साथीहरुसँगको भेटघाट तथा ‘प्रेस ब्रिफिङ्ग’ थियो । अझ बढी अनलाइनसँग सम्बद्ध साथीहरुको बढी सहभागिता थियो । त्यो कार्यक्रम नेताहरुले प्रेस संगठन, नेपाल भनेर एक शब्द पनि उच्चरण समेत गर्नुभएको छैन, न त कुनै प्रेस संगठन नेपालका नेताहरु नै बोल्नुभएको थियो । बरु प्रेस संगठन, नेपालको कमिटिमा आबद्ध साथीहरुलाई बोलाइएको थिएन । नेकपाबिटमा लेखिरहने साथीहरुलाई बोलाइएको थियो ।

२) दोस्रो प्रचार गरिए जस्तो नेताहरुले कुनै समूह अथवा नेता बिरुद्ध लेख्न पनि भन्नु भएको छैन । बरु, उहाँहरुको चिन्ता थियो, ‘जारी अन्तर संघर्ष केवल पद लेनेदेनको मात्रै जसरी प्रचार भयो । त्यो सत्य होइन ।’ उहाँहरुको भनाईको सार थियो,‘जारी अन्तरसंघर्ष केवल पदीय लेनदेनको मात्रै होइन यो पार्टीभित्र विधि र पद्धति स्थापना गर्ने बिषयसँग सम्बन्धित संघर्ष हो । विचार र संगठनसँग सम्बन्धित बिषय हो । यो फुटका लागि होइन रुपान्तरणका लागि हो ।’ मात्रै यही बुझ्न र लेख्नका लागि अनुरोध थियो, कोही नेता बिरुद्ध लेख्न अपिल गरिएको भन्ने प्रचार गलत हो ।

र अन्तमाः फेरि पनि भनौं, त्यो प्रेस संगठन, नेपालको भेला होइन । थिएन । नेताहरुले पत्रकारहरुलाई बोलाएर आफ्ना कुरा भन्दा ‘आकाश खसे जसरी, धर्ती भासिए जसरी’ उत्तेजित र उद्देलित हुन जरुरी छैन ।

बिहीबार बिहान प्रधानमन्त्री प्रेस संयोजक थापाले फेसबुकमा एक पोस्ट शेयर गर्दै प्रचण्डसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेको आरोप लगाउनुभएको थियो ।

Nabintech