• ७ बैशाख २०८१, शुक्रबार
प्रदेश ५ मा कांग्रेस संसदीय दलको नेतामा कनौडिया चयन


नेपालगञ्ज । प्रदेश ५ को प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन हुनुभएको छ । मंगलबार बुटवलमा बसेको पार्टी संसदीय दलको वैठकले कपिलवस्तु ३ (ख) बाट निर्वाचत कनौडियालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

कनौडियालाई पार्टी संसदीय दलको नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापतिसमेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गर्नुभएको थियो ।गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको क्यान्सरका कारण मृत्यु भएपछि कनौडिया कार्यवाहक नेता बन्नुभएको थियो ।

दलको नेता चयन भएपछि कनौडियाले अब प्रदेश सभामा प्रमुख विपक्षी दलको भूमिका सशक्त र प्रभावकारी बनाई सरकारलाई गलत निर्णय र काम गर्नबाट रोक्न भूमिका खेल्ने बताउनुभयो । प्रदेश सभामा विपक्षी दलको भूमिका कमजोर र प्रभावहीन रहेको भन्दै स्वयं कांग्रेस नेता र कार्यकर्ताहरुले आलोचना गर्दै आइरहेका छन् ।

Nabintech