ओली कामचलाउ भइसके,’केपी बा’प्रवृत्ति अव समाप्त हुन्छ:माधव नेपाल


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको बताउनुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनीमार्गमा भइरहेको विरोधसभालाई सम्बोधन गर्दै नेपालले जनआन्दोलनको क्रममा ओलीले गणतन्त्रविरुद्ध आन्दोलनको खिसिट्युरी गर्ने गरेको बताउनुभयो ।

नेपालले भन्नुभयो, ओलीले गणतन्त्रविरुद्ध खिसिट्युरी गर्ने गरेका थिए। उनी भन्ने गर्थे,बयलगाडा चढेर वासिङ्टन पुग्न सकिँदैन। सडकमा सानो स्वरले कराएर, राजतन्त्र फालेर गणतन्त्र ल्याउन सकिँदैन भनेर महामहिम ओलीले भनेका थिए। त्यसैले ओली संघीयता र गणतन्त्रविरुद्ध प्रतिकदम चाले। त्यसैले जनता सडकमा ओर्लिए ।

ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण नभएको भन्दै नेपालले उनलाई अझै अनुशासित बन्ने अवसर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओलीलाई अनुशासनको कारवाही मात्रै गरेका छौं। पार्टीबाट हटाएका छैनौं। ओलीलाई अन्तिम मौका दिएका छौं सुध्रिनुहुन्छ कि भनेर।’

तर नेपालले ओली सुध्रिनेमा आफूलाई विश्वास नलागेको बताउनुभयो। नेपालले भन्नुभयो, ‘बालुवाटारको बालुवा पेल्दा पेल्दा तेल निकाल्छ सक्छ भनेर म स्याबास भन्छु। बांगो पुच्छरलाई सोझो बनाउन सकिन्छ भनेर कसैलाई लाग्छ भने म स्याबास भन्छु।’

नेपालले नेकपा र सूर्य चिह्न नेकपाको भएको बालुवाटारको गुटको नभएको बताउनुभयो । ‘भ्रममा नपर्नुस्,बालुवाटारमा भएको भेला गुटको भेला हो। त्यो नेकपाको बैठक होइन। नेकपा हामी हौं। सूर्य चिह्न हामी सँग छ। बालुवाटारमा छैन।’

नेपालले प्रतिनिधिसभा विघटन भएपछि प्रतिनिधिसभा सदस्य नभएको सदस्य व्यक्ति प्रधानमन्त्री हुन सक्दैन व्यवस्था भएको भन्दै ओलीले आफैलाई कामचलाउ प्रधानमन्त्री बनाएको बताउनुभयो तर, ओली कामचलाउ भनेर कतैबाट कुनै आदेश विज्ञप्ति ननिकालेको भन्दै आलोचना गर्नुभयो । ओलीले पदको ललिपप बाड्दै हिँडेको आरोप पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘ओलीले नियुक्ति दिन्छु टिकट दिन्छु भनेर लोभलालच बाँड्दैछन्,’ओलीले वामदेव गौतम, प्रचण्ड र आफूलाई छुट्टाछुट्टै बोलाएर फकाउने गरेको उहाँले बताउनुभयो । नेपालले केपी वंश र प्रवृत्तिबाट मुक्ति पाउने बेला भएको भन्दै ओलीमा रहेको व्यक्तिवाद निरंकुशतावादविरुद्ध आन्दोलन गर्ने बताउनुभयो ।

‘केपी बा’ प्रवृत्ती अब समाप्त हुने भन्दै नेपालले प्रतिनिधिसभालाई पुनस् स्थापना गर्न आह्वान समेत गर्नुभयो ।

 

Nabintech