• १४ बैशाख २०८१, शुक्रबार
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,३ मन्त्रीले दिए राजीनामा


काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपामा विभाजन आएपछि प्रचण्ड–नेपाल खेमाका प्रदेशसभा सदस्यहरुले आइतबार बिहान अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

शनिबार मुख्यमन्त्री राईले मन्त्रीबाट बर्खास्त गरेका इन्द्र आंग्बोसहित ३७ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको हो ।

भ्रष्टाचार गरेको तथा सांसदहरुलाई काम बिहीन गराएको अभियोग लगाएर दर्ता गरिएको अविश्वास प्रस्तावका प्रस्तावक आंग्बो हुनुहुन्छ ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमा पूर्व एमालेका २१ तथा पूर्व माओवादीका १६ सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ मध्ये पूर्व एमालेका ५१ र बाँकी पूर्व माओवादीका हुन् ।

आइतबार सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् ।  सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिनुभएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमले गर्दा वर्तमान प्रदेश सरकारको मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको जनाउँदै तीन मन्त्रीले राजीनामा दिएको उल्लेख गरेका छन् । शनिबारमात्र मुख्यमन्त्री शेरधन राईले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मन्त्री पदबाट हटाएका थिए ।

 

Nabintech