• १४ बैशाख २०८१, शुक्रबार
संसद विघटनविरूद्ध कांग्रेसले पुस १३ गते देशभर प्रदर्शन गर्ने


काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पुस १३ गते देशैभर विरोध प्रदर्शन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध पुष १३ गते देशका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको प्रस्तावमा बैठकले सर्वसम्मत निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘आजको बैठकको शुरुमै पार्टीका सभापति शेरबहादुर देउवाले पुष १३ गते सोमबार १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्ने भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएर बैठकले निर्णय गरिसकेको छ ।’

कांग्रेसले प्रधानन्त्री ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष सहित विरोध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो । यस्तै, पार्टीमा कोही आन्दोलनको पक्षमा र कोही निर्वाचनको पक्षमा भन्ने खालको विवरणहरु विभिन्न सञ्चार माध्यममा आएको र त्यसमा सत्यता नरहेको पनि प्रवक्ता शर्माले बताउनुभयो ।

व्यक्तिगत रुपमा कुनैपनि नेताले आफ्नो विचार राख्नु भएपनि पार्टीले संसद विघटनको विरुद्धमा निर्णय गरिसकेको बताउनुभयो । पार्टीमा धेरै किसिमका धारणा आउने र तीनै धारणाहरुको बीचबाट उपयुक्त धारणा निर्माण गर्ने पनि प्रष्ट पार्नुभयो ।

Nabintech