सत्तारुढ नेकपाको अध्यक्षमा ओलीलाई हटाएर माधव नेपाल बने नेकपाका अध्यक्ष

४ सय ४१ केन्द्रीय सदस्यमध्ये ३१५ जनाले गरे नेपाललाई समर्थन



काठमाडौं । सत्तारुढ नेकपाको अध्यक्ष माधवकुमार नेपाल बन्नुभएको छ ।

बबरमहलमा म‌ंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकले नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर नेता नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

वैठकमा नेकपामा ४ सय ४१ केन्द्रीय सदस्यमध्ये ३ सय १५ केन्द्रीय सदस्यले समर्थन जनाएको प्रवक्ता श्रेष्ठले बताउनुभएको छ । पार्टी एकतापछि मनोनित ६ सदस्यको नाम निर्वाचन आयोगमा पठाइ नसकेकाले ४४१ सदस्यलाई आधिकारिक मानिएको हो । दाहाल नेपाल समूहको गणनालाई आधार मान्दा दुई तिहाइ बढी केन्द्रीय सदस्य यो समूहसँग छन् ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरिएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताउनुभयो ।

केन्द्रीय सदस्य विरोध खतिवडाका अनुसार खनालले प्रस्ताव राख्‍दा विधानअनुरुप दुई अध्यक्ष राख्‍नै पर्ने व्यवस्था भएअनुरुप नेपाललाई अध्यक्षमा प्रस्ताव गरेको बताउनुभएको थियो ।

यही बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने निर्णय पनि गरेको छ । यसअघि ओली समूहको केन्द्रीय कमिटी बैठकले प्रवक्ता श्रेष्ठलाई हटाएको थियो । म‌ंगलबार बालुवाटारमा बसेको ‌ओली समूहको केन्द्रीय समिति बैठकले प्रवक्तामा प्रदीप ज्ञवालीलाई नियुक्त गरिसकेको छ ।

Nabintech