• ११ बैशाख २०८१, मंगलवार
सत्तारुढ दल नेकपा सहित तिन दलको निष्कर्ष:संसद विघटन संविधानमाथिको नांगो आक्रमण


काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमबारे छलफल गर्न बसेको सत्तारुढ दल नेकपासंगै ३ दलको बैठकले संसद विघटन “असंवैधानिक र अलोकतान्त्रिक” कदम भएको निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसको आह्वानमा कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको हो ।

तिन दलको संयुक्त बैठकले यसविरुद्ध प्रतिवाद गर्ने निष्कर्ष निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । तर कसरी प्रतिवाद गर्ने भन्नेबारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गरेपछि पुनः बैठक बस्ने सहमति भएको श्रेष्ठले बताउनुभयो ।
कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्रीको कदम विरुद्ध तीनवटै पार्टी एकमत भएको बताउनुभएको छ । संसद विघटनको निर्णय विरुद्ध तीन वटै पार्टीले एकतावद्ध भएर अगाडि बढ्ने समझदारी पनि गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।

नेपाल कम्युनिष्ट पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खानाल, नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, वर्षमान पुन र कृष्णभक्त पोखरेल र जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, उमाकान्त झा र जितेन्द्र सोनल बैठकमा सहभागी हुनुहुन्थ्यो ।

Nabintech