• १३ बैशाख २०८१, बिहीबार
अध्यादेश जारी भएपछि संवैधानिक परिषद्ले गर्ने कुनै पनि निर्णय र प्रस्ताव कांग्रेसले नस्वीकार्ने


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश जारी भएपछि संवैधानिक परिषद्ले गर्ने कुनै पनि निर्णय र प्रस्ताव नस्वीकार्ने भएको छ ।

बुधबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकारले संवैधानिक परिषद्को गरिमालाई गिराउने गरी अध्यादेश ल्याएको आरोप लगाएको हो ।

बैठक पछि प्रवक्ता विश्वप्रकाश शर्माले संवैधानिक परिषद्ले गर्ने कुनै पनि निर्णय र प्रस्ताव स्वीकार नगर्ने निर्णय गरिएको जानकारी दिनुभयो । अध्यादेश ल्याउने सरकारको कदम अलोकतान्त्रिक सर्वसत्तावादी रहेको ठहर गर्दै अध्यादेश तुरुन्त फिर्ता गर्न माग गरेको प्रवक्ता शर्माले बताउनभयो ।

बैठकले संसदको अधिवेशन तत्काल बोलाउन माग पनि गरेको छ । विशेष अधिवेशन बोलाएमा दुई तीन दिन विशेष विषयमा छलफल गरेपछि ६ महिनासम्म संसद् बन्द गर्न सरकारलाई सुविधा प्राप्त हुने भएकाले हिउँदे अधिवेशन मात्र माग गरिएको प्रवक्ता शर्माले बताउनभयो ।

पदाधिकारी बैठकले संसदीय दल कार्यसमितिको बैठक समेत बोलाएको छ । बैठकमा २९ मंसिरमा सरकारविरुध्द देशभर प्रदर्शनको समीक्षा गर्दै बैठकले प्रदर्शनलाई सफल बनाउन सहयोग गर्ने सवैप्रति आभार व्यक्त गरेको छ ।

Nabintech