• १३ बैशाख २०८१, बिहीबार
सुराकी गरेको आरोपमा विप्लव समूहद्वारा शिक्षकको अपहरणपछि गोली हानी हत्या


काठमाडौं । मोरङ्गको मिक्लाजुंग गाँउपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको जिम्मा नेत्रविक्रम चन्द विप्लव समूहले लिएको छ।

चन्द समूहको मेची–कोशी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याको जिम्मेवारी लिएको हो। सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई चन्द समूहले अपहरण गरी मंगलबार बिहान नजिकैको जंगलमा घाँटी रेटी हत्या गरेको थियो।

चन्द समूहले भने शिक्षक श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ। श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको उसको दाबी  छ। शिक्षक श्रेष्ठलाई लामो समयदेखि सुराकी गर्दै आएको आरोप समेत लगाइएको छ।

श्रेष्ठले २६ फागुन २०७६ मा पार्टीको मेची–कोशी ब्युरो बैठकमा प्रहरी बोलाएर दमन गराएको विज्ञप्तिमा दाबी गरिएको छ।

‘२०७० साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य कमरेड काशीराम घिमिरे र कमरेड विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रूपैयाँ लुट्न सघाउ पुर्‍याएका थिए’, चन्द समूह विज्ञप्तिमा भनेको छ, ‘जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गोली खान्छौ भनेर जनतालाई आतंकित पारेका राजेन्द्र श्रेष्ठले त्यसप्रकारको पार्टीबिरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेका थिए।’

शिक्षक श्रेष्ठलाई चन्द समूहका कार्यकर्ताले घरबाटै हात बाँधेर लिएको प्रत्यक्षदर्शीले बताएका थिए। मोरङ प्रहरीले शिक्षक श्रेष्ठलाई नियन्त्रणमा दिई हात बाँधेर धारिलो हतियारले हत्या भएको जनाएको छ।

यसैबीच, प्रहरीले हत्यामा संलग्नको खोजीमा प्रहरीले तिब्रता दिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार, हत्यामा संलग्नहरूको पहिचानका लागि अनुसन्धान तीब्र बनाइएको छ।

स्थानीयले दिएको जानकारीका आधारमा प्रहरीले श्रेष्ठको गोली हानी हत्या भएको सार्वजनिक गरेपनि उनको घाँटी रेटेर हत्या भएको पाइएको छ। “हामीले पाएजस्तो खबर हैन रहेछ, गोली हानेको नभई घाँटी रेटेको रहेछ” एसपी खड्काले भने। उनीहरूले श्रेष्ठको हत्यापछि हवाई फायर गरेर हिँडेको हुन सक्ने प्रहरीले बताएको छ।

श्रेष्ठलाई घरबाट करीब एक किलोमिटर परको जंगलमा लगेर दुवै हात बाँधी रेटेर हत्या गरिएको प्रहरीको भनाइ छ। एसपी खड्काका अनुसार, श्रेष्ठको शव घटनास्थलको अनुसन्धानपछि पोष्ठमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

हत्यामा संलग्नको खोजीका लागि तीन जिल्ला र प्रदेश प्रहरी कार्यालयका सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक कविन्द्र कार्कीले बताए। उनका अनुसार, मोरङ, पाँचथर र इलाम जिल्ला र प्रदेश प्रहरीको अनुसन्धान समूह खोजीका लागि खटिएका छन्।

Nabintech