• १४ बैशाख २०८१, शुक्रबार
हो म वेश्या हूँ, त्यही वेश्या सङ्ग रात बिताउने तिमी चाहिँ को ? (कविता)


वेश्या

हरेक रात
मेरो शरिरको
नापतौल हुन्छ
मूल्य तोकिन्छ
मेरो शरीर बेचिन्छ
अनि,मेरो
न्वारन पनि गरिन्छ
नाम राखिन्छ
वेश्या ।

प्रत्येक दिन
मेरो न्वारन हुन्छ
नाम तेहि जुर्छ
वेश्या ।

ग्रह,दशा,नक्षत्र
कहिल्यै बद्लिदैनन प्रत्येक दिन
नाम वेश्या नै हुन्छ ।

अब त
मेरो नाम राख्ने
पन्डितलाइ नि सजिलो भैसक्यो
जति न्वारन गरे नि
नाम त्यही
वेश्या ।

सायद
पन्डितलाई त्यो नाम
कण्ठ भैसकेको हुनुपर्छ
र त
उनलाई
मेरो नाम राख्न
केही सोँच्नु पर्दैन
किनकि
ग्रह,दशा,नक्षत्र
सब पन्डितले चाहे जसरी चल्छन्
नत्र भने
मेरो नाम
अरु पनि त
जुर्न सक्थ्यो रु
बारम्बार तेहि नाम कसरी दोहोरिन्थ्यो ?

मेरो नाम वेश्या राख्ने
तिनै पण्डितहरु
हरेक रात्री
आफ्नो यौन तिर्खा मेटाउन
मेरो ओछ्यान नै रोज्छन्
मेरो शरीरसँग लडिबुडी खेल्छन्
मलाई नग्न बनाउँछन्
मानौँ
म कुनै खेलौना हो
चिल्ला गाडिमा आउँछन्
तिर्खा मेटाउँछन् जान्छन्
उनीहरुको समाजमा मान,इज्जत,प्रतिष्ठा सबथोक छ
उनीहरु यो समाजका
सभ्य ,भलाद्मी मान्छे अरे !
अनि म
वेश्या ।

मलाई वेश्या बनाउनेहरु नै ठूला /ठूला
सभा,सेमिनारमा गएर
आदर्शका नारा घन्काउँछन्
महिला जागरणका कुरा गर्छन्
त्यही मात्र हो र
नारीलाइ देवीको उपाधि समेत दिन पछि पर्दैनन्
तिनै मिथ्या भाषण फलाक्नु अघि आफैँले
देवीको उपाधि दिएकी
नारीको शरिीको मूल्य तोकेर आउँछन् ।

हो म वेश्या हूँ
नामै काफी छ
वेश्या
न कुनै लाज
न कुनै सरम
किन लाज ,सरम होस त मलाई ?
हरेक रात
तिमीहरु जस्ता ब्वाँसाहरु आएर मलाई नङ्याउँछौ
अनि मैले
लाज सरम पनि मान्नु पर्ने ?
नाङ्गिसकेकी मलाई
के को लाज
के को सरम रु
मलाई नङ्गयााउन
तिमीलाई त लाज,सरम हुनुपर्ने होइन र ?
नाङ्गिएकी वेश्याको अगाडि आफू पनि
नाङ्गिएको कसरी भुल्छौ तिमी ?

हो म
वेश्या हूँ
तर
एक दिन
यहि वेश्याले
आफ्ना
जीवनका भोगाइहरुलाई
आफ्ना मनभित्र कुन्ठित ज्वारभाटाहरुलाई
कुनै कोरा कागजमा
जस्ताको त्यस्तै
उतार्ने हो भने
म दाबाका साथ भन्छु
मेरा शब्दहरुलाई
मेरा भावनाहरुलाई
मेरो तितो भोगाइहरुलाई
पढ्न नसकेर बौलाउनेछन्
पुरुष भएको
आत्मग्लानिले छ्ट्पटाउनेछन्
मृत्युको भिख मागेपनि
पाउने छैनन्
अस्वत्थामालेझैँ
समाजबाट
हरेक छोरीको
अस्तित्व नै
मेटिनेछ ।

हो म वेश्या हूँ
तर
त्यही वेश्याको
सामु आएर
नाङ्गिएर
उसैसङ्ग रात बिताउने
तिमी चाहिँ को ?
मेरो पहिचान
वेश्या हो भने
तिम्रो पहिचान के ?
मलाई वेश्या बनाउने को ?

 काली शर्वरी
धनगढी,कैलाली

Nabintech