क्रियाशील सदस्यताको सूची केन्द्रमा पठाउन जिल्ला सभापतिलाई कांग्रेसको निर्देशन


काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिर सान्तसम्म केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ ।

कांग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन सबै जिल्ला सभापतिलाई मङ्सिर २ गते निर्देशन गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

जिल्ला कार्यसमितिले केन्द्रको परिपत्रको सबै प्रक्रिया पूरा गरेर नामावली सूची प्रकाशन गरी विधानबमोजिम आवश्यक कागजात र तोकिएअनुसारको शुल्कसहित मङ्सिरभित्र अनिवार्यरुपमा केन्द्रमा पठाउनुपर्नेछ ।

कांग्रेस मुख्य सचिव पौडेलका अनुसार गत फागुन १३ र साउन २२ गते केन्द्रबाट जारी गरिएको क्रियाशील सदस्यता वितरणसम्बन्धी परिपत्रअनुसारको प्रक्रिया पूरा नगरी वितरण गरिएका र केन्द्रमा पठाइएका क्रियाशील सदस्यताको नामावली ९नयाँ र नवीकरण० स्वीकृत नहुने भएको छ ।

कांग्रेसको नेतृत्व चयनमा महत्वपूर्ण भूमिका रहने क्रियाशील सदस्यता सङ्ख्या हाल करिब पाँच लाख छ । कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा सो सङ्ख्या दोब्बर हुने पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरी सोहीअनुसार कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

Nabintech