• १२ श्रावण २०८१, शनिबार
भूकम्पले क्षतिग्रस्त भएपछि पहिलोपटक खुल्यो रानीपोखरी र बालगोपालेश्‍वर मन्दिर


काठमाडौं । हरेक वर्ष भाइटीकाका दिन खुल्ने बालगोपालेश्‍वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएपछि पहिलोपटक खुला गरिएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीकोबीचमा रहेको बालगोपालेश्वर मन्दिर ५ वर्षपछि आज खुला गरिएको हो । यो मन्दिर वर्षमा एकदिन मात्रै खुला हुने गर्छ । तर भूकम्पपछि भने ५ वर्षसम्म खुल्न सकेन । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा टीका लगाउने चलन छ ।
भूकम्पले मन्दिरमा क्षति पुगेपछि बन्द थियो । मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीबाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो । लामो समयपछि यो वर्ष भाइटीकाका दिन बालगोपालेश्वरको दर्शन गर्न पुगेका सर्वसाधारणहरु खुसी देखिन्छन् । पुनर्निर्माणअघिको भन्दा अहिलेको रानीपोखरी सफा रहेको उनीहरुको भनाइ छ ।

कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर दर्शनको व्यवस्था मिलाइएको छ । भिड व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले स्वयंसेवक परिचालन गरेको छ । फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले भोलि २ गते पनि मन्दिर खुला हुनेछन् ।

Nabintech