• १३ बैशाख २०८१, बिहीबार
डा केसीले सरकारलाई भने,’म आफ्नो उपचार खर्च आफैं गर्छु,विपन्न वर्गको उपचारमा ध्यान दिनुहोस्।’


काठमाडौं । कोरोना संक्रमित भई उपचार गराइरहनुभएका चिकित्सक डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताउनुभएको छ ।

शुक्रबार कोरोना संक्रमण देखिएपछि केसी टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्छ । प्रधानमन्त्री केपीशर्मा ओलीले ट्वीटरमार्फत केसीलाई स्वास्थ्यलाभको कामना गर्दै सरकारले उपचार खर्च व्यहोर्ने जानकारी दिनुभएको थियो ।

केसीले त्यसकै जवाफमा शनिबार एक विज्ञप्ति जारी गर्दै संक्रमित विपन्न र दूरदराजका नागरिकले नै उपचार नपाएको अवस्थामा व्यक्ति विशेषको उपचार व्यहोर्नुभन्दा विपन्न नागरिकको उपचार खर्च व्यहोर्नमा सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ ।

डा. केसीले भन्नुभयो,हामीसँग पटक पटक गरिएका सम्झौता कार्यान्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल मेडिकल कलेज बन्ने थिए’ उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘त्यहाँका नागरिकले कोरोनाका साथसाथै सम्पूर्ण रोगको गुणस्तरीय, निशुल्क, सर्वसुलभ स्वास्थ्य सेवा पाउने थिए। तसर्थ १९ औं सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न अनुरोध गर्दछु।’

प्रधानमन्त्रीले गरेको स्वास्थ्यलाभको कामनाप्रति भने डा. केसीले धन्यवाद दिनुभएको छ ।

प्रेस विज्ञप्ति

म कोभिड -१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् । कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन् । त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ। हामीसँग पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए। साथै, त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए। तसर्थ हामीसँग १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्नुहुन अनुरोध गर्दछु। मेरो स्वास्थ्य लाभको कामना गर्नुभएकोमा फेरि पनि तपाईंलाई धन्यवाद दिन चाहन्छु।

डा गोविन्द केसी २०७७/०७/२९

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज

Nabintech