कर्णाली प्रदेश विवाद उत्कर्षमा : नेकपा संसदिय दलका प्रमुख सचेतक शाह हटार्ईए


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको विवाद सतहमा झरेको छ ।

प्रमुख सचेतक गुलाफजङ शाहलाई दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निलम्बन गर्नुभएको छ । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराउनुभएकाे छ।

शाहलाई हटाएर सीता नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ।

यसअघि सचेतक नियुक्त गरिनुभएका शाह ओलीनिकट हुनुहुन्छ । उहाँ सल्यानका सासंद हुनुहुन्छ ।

मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेको हो ।आइतबार १८ सांसदले विद्रोह गरेपछि केन्द्रबाट मिलाउने प्रयास भइरहेको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले छलफल गर्नुभएको छ । प्रचण्डले मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव तत्काल रोक्न पार्टी अध्यक्ष ओली र वरिष्ठ नेतालाई आग्रह गर्नुभएको थियो ।

 

Nabintech