विपन्न वर्गलाई लक्षित गरी हाँडीगाउँमा निःशुल्क कपडा बैङ्क सञ्चालन


 

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं -५ हाँडीगााउँमा कपडा बैङ्क सञ्चालन गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका व्यक्ति तथा परिवारले आफूलाई चाहिएको कपडा छानाछानी पैसा नतिरी लैजान सक्ने व्यवस्था उक्त बैङ्कले गरिदिएको छ ।
सार्वजनिक स्थानमा निःशुल्क कपडा बैङ्क राखिएको छ । केही युवा तथा सामाजिक संस्थाको पहलमा पहलमा विपन्न वर्गलाई लक्षित गरी कपडा बैङ्क स्थापना गरिएको हो । बैङ्कले पुराना कपडा सङ्कलन गर्छ भने नयाँ कपडा निःशुल्क वितरण गर्नेछ ।

कोरोमा महामारी तथा नियन्त्रणको लागि गरिएको लकडाउन तथा निषेधाज्ञाबाट आर्थिक समस्यामा परेका वर्ग तथा समुदायलाई लक्षित गरी ‘हाम्रो सोच’ नामक सामाजिक संस्थाले कपडा बैङ्क सञ्चालनमा ल्याएको हो ।

सामाजिक कल्याणकारी सोच राखेर हाँडीगाउँमा ‘कपडा बैङ्क’ हरेक शनिवार सञ्चालन हुने छ । बैङ्कबाट गरिब तथा अति विपन्न परिवारलाई ठुलो राहत पुग्ने देखिएको सो संस्थाका अध्यक्ष विजय प्रकाश कर्माचार्यले जानकारी दिए । ‘यस कपडा बैङ्कले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्दत पुगाउने विश्वास लिएको छु,’ उनले भने, ‘प्रयोग गर्न मिल्ने कपडा सङ्कलनमा सहयोग गर्न आग्रह गर्दछु ।’

कपडा बैङ्कका सञ्चालक कर्माचार्यले जो कोहीले पनि कपडालगायतका सामान ल्याएर दिन सक्ने बताए । ‘नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन्, हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका हौँ’ उनले भने, साथै नयाँ कपडा दिन सक्नुहुन्छ भने पनि सहयोग गर्न सक्नुहुन्छ ।’

हाँडीगाउमा निःशुल्क कपडा बैङ्क सञ्चालन गरेर हाम्रो सोच संस्थाले पुण्यको काम गरेको भन्दै स्थानीय प्रशंसा गरेका छन् ।

Nabintech