प्रदेश ५ राजधानी फेरि विवादमा :प्रदेशसभाले पासगरे भन्दा फरक तरिकाले राजपत्रमा नाम ‘देउखुरी’ प्रकाशित


काठमाडौं । प्रदेश पाँचको राजधानीको नाम र राजधानीको विषयमा दुइ तिहाइ बहुमतले प्रदेश सभाले हुबहु पास गरेभन्दा फरक ढंगले राजपत्र प्रकाशित भएको छ।
प्रदेश सभाको दुइतिहाई बहुमतले मंगलबार लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेटेर राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका किटान गरिएको थियो ।

तर प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले प्रकाशित गरेको राजपत्रमा दाङको राप्ती उपत्यका ९देउखुरी० मात्र स्थायी राजधानी उल्लेख गरीएको सूचना प्रकाशित भएको छ । राजपत्रमा प्रकाशित सूचना प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि त्यसले कानूनी मान्यता पाउँछ ।

प्रदेशसभामा प्रस्ताव पेश गर्दा आन्तरिक मामिला तथा कानुन मन्त्री कूलप्रसाद केसीले स्पष्ट भाषामा र मुख्यमन्त्रीले स्थायी राजधानीका विषयमा बोल्दा पनि राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाका वडा नं। १, २ र ३ तथा अर्घाखाँचीको शितगङ्गा नगरपालिकाका ८ र ९ नम्बर वडाले चर्चेको जमिन भन्ने शब्द प्रयोग गर्नुभएको थियो । मुख्यमन्त्री पोखरेलले विशेष समय लिएर बोल्दा पनि सबै स्थानलाई नछुटाई प्युठान जिल्लाको बाङ्गेसालसम्मको क्षेत्रलाई स्थायी राजधानीका रुपमा ब्याख्या गर्नुभएको थियो ।

तर बुधबार सार्वजनिक भएको प्रदेश राजपत्रमा भने यी गाउँपालिका र नगरपालिकाका नाम छैनन्। यसमा अर्घाखाँचीबासीले सामाजिक सञ्जालमा लेख्दै अर्घाखाँचीमाथि धोका भएको बताएका छन् भने गढवा र राप्ती गाउँपालिकाका बासिन्दाले राजधानी लमही लैजाने प्रयास गरेको बताएका छन्।

भालुबाङमै स्वागत तथा खुशीयाली साटासाटको कार्यक्रम आयोजना गरिएपनि प्रदेश सरकारले प्रकाशित गरेको राजपत्रमा सो विवरण हटाएर देउखुरी मात्रै उल्लेख भएकोमा प्रदेश सभा र प्रदेश सरकारको चलाखी सार्वजनिक भएकोमा सामाजिक सञ्जालमा असन्तुष्टि पोखिएको छ।

प्रदेश राजधानी तोकिएको स्थान प्रतिबन्धित क्षेत्र भएका कारण सरकार र प्रदेश सभाले चलाखीपूर्वक यसरी ती स्थानको नाम हटाएर देउखुरीमात्रै राखेको श्रोतले बताएको छ।

Nabintech