• १३ बैशाख २०८१, बिहीबार
प्रदेश ५ राजधानी विवाद:नेकपा र कांग्रेस सासंद मतदाताको सहानुभुती पाउनका लागि मात्रै विरोध गर्दै


काठमाडौं । प्रदेश पाँचको राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेशसभामा पेश भएपछि कतै समर्थन त कतै विरोध सुरु भएको छ ।

आफ्नो पायक पर्ने स्थानमा राजधानी पाउनेले समर्थन र गुमाउनेले विरोध गर्नु स्वाभाविक नै हो । सत्तारुढ दलकै केही सांसदले राजधानी सार्ने प्रस्तावको विरोध गर्दा प्रतिपक्षी दल कांग्रेसका केही सांसदले भने समर्थन गरेका छन् । प्रदेश पाँचको अस्थायी राजधानी बुटवल रहेपनि स्थायी राजधानी दाङमा राख्ने प्रदेश सरकारको प्रस्तावलाई प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ ।

सबैलाई पायक पर्ने ठाँउ भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न मुख्यमन्त्रीले राजधानी सार्ने प्रस्ताव गरेको भन्दै नेकपाकै सांसदहरुले पनि विरोध गरेका छन् । नेकपाले प्रदेशको नामकरण र राजधानी सम्बन्धी प्रस्तावको पक्षमा ह्वीप लगाउने निर्णय गरिसकेको छ । तर प्रदेशसभाकै ६१ सदस्यमध्ये १४ जनाले ‘नोट अफ डिसेन्ट’ लेखेर ह्वीप नमान्ने चेतावनी दिएका छन् । यता नेपाली कांग्रेस बुटवललाई नै राजधानी बनाउनुपर्ने पक्षमा उभिएको छ तर कांग्रेसले ह्वीप जारी नगरेका कारण दाङ पायक पर्ने राप्ति र भेरीका ६ सांसद दाङको पक्षमा छन् । जसपा ६ र जनमोर्चाका १ सासंद गरी सात सासंद भने समर्थनमा छन् ।

पार्टीले राजधानी सार्ने प्रस्तावको विरोध गरिरहँदा प्रदेशसभा सदस्य तथा कांग्रेस प्रमुख सचेतक सुरेन्द्र हमाल भने सरकारको पक्षमा उभिनुभएको छ । नेकपा रुपन्देहीका प्रदेशसभा सदस्य भोजराज श्रेष्ठ भने सरकारले दाङलाई राजधानी बनाउने प्रस्ताव ल्याएपनि आफूहरु बुटवलकै पक्ष रहेको प्रदेशसभा सदस्य भोजराज श्रेष्ठको भनाइ छ । बुटवलमा सबै भौतिक संरचना निर्माण भएका कारण यहाँबाट राजधानी हटाएर दाङको देउखुरीको जंगलमा राजधानी बनाउने प्रस्ताव औचित्यहीन हुने उहाँको ठहर छ ।

राजनीतिक विश्लेषक टिकाराम भट्टराईको भने बन्द केन्द्रीय नेताहरुले कोठामा निर्णय गरेर प्रस्ताव ल्याउने र ह्वीप लगाएर जबर्जस्ती पारित गराउने परिपाटीले संघीयतालाई नै गिज्याएको तर्क गर्नुहुन्छ ।

नेकपाकै महासचिव विष्णु पौडेल बुटवललाई राजधानी बनाउनु पर्छ भन्ने पक्षमा हुनुहुन्छ भने कृष्णबहादुर महरा, मुख्यमन्त्री शंकर पोखरेलको दाङलाई राजधानी बनाउनुपर्ने अडानका कारण प्रदेशको राजधानी र नामकरणको विषय टुंगो लाग्न सकेको थिएन ।

Nabintech