• १६ चैत्र २०८०, शुक्रबार
बासु रोटरी सुशासन पत्रकारिता पुरस्कारबाट सिवाकोटीसहित १४ पत्रकार पुरस्कृत


काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले स्थापना गरेको ‘बासु रोटरी भोकेशनल अवार्ड अन गुड गर्भनेन्स’ खोजी पत्रकारिता पुरस्कारबाट दुई सञ्चारकर्मी पुरस्कृत हुनुहुने भएको छ ।

छापा माध्यमका तर्फबाट आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाल र अनलाइन माध्यमका तर्फबाट हाम्रा कुरा डटकम अनलाइनका सम्पादक अजयबाबु शिवाकोटीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको रोटरीले आज विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

रोटरीले वर्ष सन् २०१९/२० का लागि स्वतन्त्र पत्रकारिताको माध्यमबाट खोजमूलक, अनुसन्धानात्मक सूचना, समाचार प्रकाशित तथा प्रसारण गरी देश र जनतालाई सुसूचित बनाउनुका साथै सुशासन स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारहरु प्रोत्साहन गर्ने उद्देश्यले जनही रु पाँच लाखका दरले सो पुरस्कार प्रदान गरिने जनाएको छ ।

प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने पुरस्कार इञ्जीनियर सुरेन्द्र गोविन्द जोशीले आफ्नो र श्रीमती बद्रीलक्ष्मी जोशीको नाममा स्थापना गर्नुभएको हो ।

उहाँ रोटरी क्लब अफ यल (पाटन ललितपुर)का संस्थापक सदस्य तथा पूर्व अध्यक्ष हुनुहुन्छ । ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार वर्ष सन् २०१९/२० का लागि प्रत्येक प्रदेशका एक/एक जना गरी सात पत्रकार र शिक्षा, स्वास्थ्य, वातावरण तथा महिला बालबालिकालगायत पाँच विधामा निरन्तर कलम चलाउने पाँच पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गर्भनर किरणलाल श्रेष्ठले बताउनुभयो ।

सो पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । सो अवार्डबाट आर्थिक पत्रकारिता क्षेत्रबाट पुष्पराज आचार्य, वातावरण पत्रकारिता क्षेत्रबाट टीका वन्धन, शिक्षा पत्रकारितातर्फ दीपेन्द्रप्रसाद सिंह, स्वास्थ्य क्षेत्रबाट सम्झना महर्जन, महिला सञ्चारकर्मीतर्फ विनिता रिजाल पुरस्कृत हुनुहुने भएको छ ।

प्रदेशअन्तर्गत विनु तिमिल्सिना, श्याम बन्जारा, कमला हमाल, दीपेन्द्र श्रेष्ठ, लक्ष्मी आचार्य, भीमबहादुर सिंह र उन्नति चौधरीलाई प्रदान गरिने भएको रोटरी इन्टरनेशनलले जनाएको छ ।

Nabintech