डा. केसीसँग सरकारले गरेको सहमति प्रधानमन्त्रीकै अगुवाइमा उल्लंघन:कांग्रेस

डा. केसीप्रतिको अपमानले सरकारको अविवेकी र अनुदार चरीत्र उजागर



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्याग्रही डा. गोविन्द केसीलाई गरेको अपमानबाट सरकारको अविवेकी र अनुदार चरित्र थप उजागर भएको टिप्पणी गरेको छ ।
कांग्रेसले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सत्याग्रही केसीलाई गरेको अपमानबाट सरकारको अविवेकी र अनुदार चरित्र थप उजागर भएको टिप्पणी गरेको हो ।
“डा. केसीको पछिल्लो अनसन जुम्लामा सुरु भएर नेपालगञ्‍ज हुँदै काठमाडौं पुगेर जबरजस्ती ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पताल पुग्दै गर्दासम्म सरकारले प्रस्तुत गरेको व्यवहारले एक कर्मयोगीको अपमान मात्रै गरेको छैन सरकारको अविवेकी र अनुदार चरीत्र थप उजागर गरेको छ,” प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्याग्रही डा. गोविन्द केसीसँग तत्काल वार्ताका माध्यमबाट जायज माग पूरा गरेर जीवन रक्षा गर्न सार्वजनिक अपिल पनि गरेको छ ।

“डा. केसीको स्वास्थमा बढ्दो प्रतिकुलता दृष्टिगत गरेर तत्काल वार्ता समिति गठन गरी ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ मा तदारुकता प्रस्तुत गर्न नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री एवं उहाँको नेतृत्वको सरकारलाई अपिल र आग्रह गर्दछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीको अग्रसरता २०७५ साउन १० गते डा. केसीसँग सरकारले गरेको सहमति प्रधानमन्त्रीकै अगुवाइमा माघ महिनामा उल्लंघन नगरिएको भए आजको परिस्थिति नआउने पनि कांग्रेसले स्मरण गराएको छ ।

Nabintech